सुर्खेतमा नेकपा–माओवादी र प्रहरीबीच झडप

सुर्खेत, १ जेठ । नेकपा–माओवादीले सुर्खेत जिल्लामा आफूहरुको शान्तिपूण विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको आरोप लगाउँदै घटनाप्रति आपत्ति जनाएको छ ।
नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले आज (बुधबार) विज्ञप्ति जारी गरेर मैनतडा गाविसको जहरेमा भएको शान्तिपूर्ण प्रदर्शन प्रहरीले दमन गरेर आरोप लगाएकी छन् ।
‘हाम्रा कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा ३ जना गम्भीर घाईते बनेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सदस्य भरत बमसहित ९ जनालाई गिरफ्तार गरिएको छ ।’
प्रवक्ता भसालले शान्तिपूर्ण विरोध प्रदर्शनको मौलिक हकमाथि आक्रमण भएको आरोप लगाएकी छन् । ‘शान्ति पूर्ण विरोध प्रदर्शनको मौलिक हकमाथि कठपुतली सरकारले गोली बर्साउने र गिरफ्तार गर्ने कार्यले निरङ्कुश पञ्चायत बिर्साउने काम गरेको छ,’ नेकपा–माओवादीले भनेको छ ।
गिरफ्तार नेता तथा कार्यकताको रिहाई र गोली लागेर घाईते भएकाहरुको उचित उपचारको माग गरेको छ । साथै नेकपा–माओवादीले प्रदर्शनमा हस्तक्षेप गर्ने दोषी प्रहरी प्रशासन माथि कारबाहीको माग पनि गरेको छ ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सहयोगमा सरकारले आप्रवासीहरुलाई नेपाली नागरिकता वितरण गरी नेपाललाई नयाँ सिक्किम बनाउने दिशिातिर तीव्र ढङ्गले लागेको प्रवक्ता भुसालले आरोप लगाएकी छन् ।
नागरिकतासहितको मतदाता नामावली संकलनका क्रममा आज (बुधबार) मनतडाको जहरेस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अगाडि नेकपा–माओवादीको अवरोध सृजना भए पछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
भिड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रु ग्यास प्रहार गरेको जनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको नेकपा–माओवादीले दाबी गरेको छ ।
नेकपा–माओवादीले प्रहरीको गोली प्रहारबाट सहबीर महर, टेकबहादुर तिरुवा र रामबहादुर बिक गम्भीर घाईते भएको दाबी गरेको छ ।
लाठी चार्जबाट पनि दर्जनौं प्रदर्शनकारी घाईते भएको विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय सदस्य भरतबम, भेरी कर्णाली राज्य समिति सदस्य जेबी सुनार, तुलसी पौडेल, सोमबहादुर राना, खगेन्द्र बुढा, टोपबहादुर चलाउने, देवबहादुर चलाउने, कुलबहादुर परियार र पूर्ण बहादुर परियारलगायत ९ जनालाई गिरफ्तार भएको प्रवक्ता भुसालले जनाएकी छन् ।

प्रतिक्रिया