दुई करोडको तरकारी बिक्री

vegetableपर्वत : पर्वतको नाङलिबाङ गाविस–९ फर्से गाउँबाट वार्षिक दुई करोडको तरकारी बिक्री भएको छ ।
फर्सेका कृषकले गत वर्ष दुई करोड बराबरको तरकारी बिक्री गरेका छन् । पर्वतको ताजा तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको फर्सेमा धेरै कृषकले व्यावसायिक रूपमा ताजा तरकारीखेती गर्दै आएकाले वार्षिक दुई करोडभन्दा बढी मूल्यको तरकारी बिक्री गर्न सफल भएका हुन् ।
कालीगण्डकी नदी किनारमा रहेको उब्जाउ जमिनमा बाह्रै महिना तरकारीखेती हुन्छ । हरेक मौसममा तरकारी लगाएका कारण एउटै गाउँबाट दुई करोडभन्दा बढीको तरकारी बिक्री हुँदै आएको कृषक जीवानन्द सापकोटाले बताए । ‘बर्सेनी दुईदेखि साढे दुई करोडको तरकारी बिक्री गर्दै आएका छौँ,’ उनले भने, ‘जाँगर चलाउने हो भने अझै धेरै उत्पादन गर्न सकिन्छ ।’
कृषकले मौसमी र बेमौसमी दुवैथरी तरकारीखेती गर्दै आएका छन् । बन्दा, काउली, गोलभँेडा, सिमी, जुकेनी, काक्रो, मुला, गाँजर, खुर्सानीलगायतका तरकारी लगाउँदै आएको पाइएको छ । गोलभेँडाबाट सबैभन्दा बढी कमाइ हुने गरेको कृषकको भनाइ छ । पहिले बेनीदेखि बागलुङसम्म डोकोमै बोकेर तरकारी पुर्‍याउँदै आएका कृषकलाई मालढुंगादेखि बेनी जोड्ने सडक बनेपछि भने सहज भएको छ । ‘अहिले बिक्रीका लागि समस्या छैन,’ कृषक मनबहादुर क्षेत्रीले भने, ‘तरकारी उत्पादन गर्न सके घरमै आएर लैजान्छन् ।’
फर्सेका कृषकले साढे दुई दशकदेखि व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । २०४७ सालदेखि व्यावसायिक तरकारीखेती गरेका जीवानन्द सापकोटा आफूले अहिले दुई करोड पर्ने जमिन तरकारीखेतीबाटै किन्न सफल भएको बताए । ‘वर्षमा चार–पाँच लाख रुपैयाँको तरकारी बिक्री गर्दै आएको छु,’ उनले भने, ‘तरकारीबाटै जोडेको जमिनको मूल्य अहिले त एक/दुई करोडभन्दा बढी पर्छ ।’ सापकोटा मात्रै होइन यहाँका हरेक कृषकले न्यूनतम ५० हजारदेखि पाँच लाखसम्मको तरकारी बिक्री गर्दै आएका छन् ।
पछिल्लो समय तरकारीखेतीसँगै कृषक गाईपालनतर्फ पनि आकर्षित भएका छन् । तरकारीभन्दा कम झन्झटिलो हुने विश्वासमा गाईपालनमा लागेको कृषकको भनाइ छ । तरकारीखेतीमा पनि युवापुस्ताले हात अघि बढाउन थालेका छन् भने पुराना कृषक खेती छाड्न थालेका छन् ।

प्रतिक्रिया