हस्पिटल तीन टेलिभिजनमा

Santosh-Pantaकाठमाडौं : हास्य अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तले पनि निर्देशनमा हात बढाएका छन् । उनले निर्देशन गरेको चेतनामूलक टेलिशृंखला हस्पिटल बिहीबारदेखि प्रसारणमा आएको छ । अन्नपूर्ण न्युरो अस्पतालले शिक्षाको कमीका कारण मानव स्वास्थ्यमा पर्ने समस्या र समाधानको विषयमा चेतना दिन यो शृंखला निर्माण गरेको हो ।
हस्पिटल हरेक बिहीबार साँझ सात २५ बजे नेपाल टेलिभिजन र साढे सात बजे हिमालय टेलिभिजनमा तथा शनिबार राति साढे आठ बजे तराई टेलिभिजनमा प्रसारण हुने निर्देशक साकारले जानकारी दिए ।
‘हस्पिटल एकै सातामा तीनवटा राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने सम्भवत: नेपालकै पहिलो टेलिशृंखला हो,’  निर्देशक साकार भन्छन्, ‘जनमानसमा स्वास्थ्यसम्बन्धी चेतना जगाउन हस्पिटलले ठूलो सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’ सन्तोष पन्त, सिरु विष्ट, राधेश्याम सत्याल, मुकुन्दकिशोर भट्टराई, रमेश अधिकारीलगायतको अभिनय यसमा छ । यसमा कतिपय सत्य घटना पनि ‘ड्रामाटाइज’ मा प्रस्तुत हुनेछ । (सौस)

प्रतिक्रिया