महिला कैदीलाई सीपमूलक तालिम

सल्यान, ३० वैशाख । सल्यान कारागारमा रहेका महिला कैदीलाई सीपमूलक तालिम दिइने भएको छ । कारागारमा रहेका १० जना महिला कैदीलाई सिलाइबुनाइसम्बन्धी तालिम दिइने भएको हो ।
सल्यानका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको पहलमा उनीहरूलाई जिल्लाका विभिन्न व्यक्तिहरूको सहयोगमा तालिम दिन लागिएको हो । तालिमका लागि चाहिने दुईवटा मेसिन स्थानीय विकास अधिकारी मणिकुमार ज्ञवालीले, एउटा सिलाइ मेसिन दलित विकास समाज सल्यानका अध्यक्ष तथा गैसस महासंघका केन्द्रीय सदस्य निमबहादुर नेपालीले र तालिमका लागि आवश्यक प्रशिक्षक घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सुनीलकुमार शर्माले व्यवस्था गरिदिने भएपछि महिला कैदीहरूले तालिम लिन पाउने भएका हुन् ।
आफू कारागार अनुगमनका क्रममा महिला कैदीहरू खाली बसेको देखेर सोध्दा उनीहरूले सीपमूलक तालिमको आवश्यकता औँल्याएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए । जेलर विक्रम केसीले पुरुष बन्दीहरूसँग मुढा, झोला र टोपी बुन्ने सीप भएको तर महिला बन्दीहरूसँग केही सीप नहुँदा उनीहरूलाई दिन कटाउनै कठिन छ । सल्यान कारागारमा हाल १० महिला, दुई बालबालिका र ६२ पुरुष गरी ७४ जना कैदी छन् ।

प्रतिक्रिया