चुनावी वातावरण बनाउन एमालेको माग

UML-party-office-ST_2012062काठमाडौं, २९ वैशाख । एमालेले असन्तुष्ट दलहरूलाई समेत मनाएर सरकारले अबिलम्ब चुनावको वातावरण बनाउन माग गरेको छ । केन्द्रीय कमिटीको शुक्रबार सम्पन्न २१औँ बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उसले एमाओवादी बाहेकका लोकतान्त्रिक, देशभक्त र वामपन्थी शक्तिहरूसँग चुनावमा सहकार्य गर्न सकिने जनाएको छ ।
एमाओवादी उग्रवामपन्थी शक्तिबाट दक्षिणपन्थी आत्मसमर्पणवादी भएकाले ऊसँग सहकार्य असम्भव रहेको एमालेले जनाएको छ । ‘असन्तुष्ट रहेका दलहरूलाई पनि सहमतिमा ल्याएर सरकारले चुनावका वतावरण बनाउनु पर्छ’ पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले भने, ‘यसअघिको सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गरी अबिलम्ब चुनाव घोषणा गर्नुपर्छ ।’
शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले चुनाव परिचालनको कार्ययोजना, नारा र एजेन्डा तय गरेको थियो । बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा एमाओवादीलाई दक्षिणपन्थी आत्मसमर्पणवादमा रूपान्तरित शक्तिका रूपमा एमालेले व्याख्या गरेको छ । युद्धकालमा उसले उठाएका मुद्दाहरू छोडेर राष्ट्रिय आत्मसमर्पणवादी बाटो अंगालेको एमालेले विश्लेषण गरेको छ ।
राष्ट्रियताको मुद्दालाई पनि चुनावी मुद्दा बनाएर जाने तयारी एमालेले गरेको छ । अध्यक्ष खनालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बोल्ने केन्द्रीय सदस्यहरूले राष्ट्रियता कमजोर भएको बताउँदै राष्ट्रियतालाई पनि मुख्य मुद्दा बनाएर अघि बढ्न सुझाव दिएका थिए ।
यस्तै एमाले केन्द्रीय कमिटी बैठकबाट पारित चुनावी कार्ययोजना कार्यान्वयन गर्न ३ जेठदेखि नै देशव्यापी संगठन र कार्यकर्ता परिचालनको विशेष योजना बनाएको जनाएको छ । बैठकले तय गरेको चुनावी रणनीतिका विषयमा ४ र ५ साउनमा हुने राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा प्रस्तुत गरी चुनावी घोषणा पत्र तयार गर्ने भएको छ । ३ जेठदेखि एमालेले विशेष चुनावी अभियान चलाउने कार्यतालिका समेत तयार गरेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष खनालले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने सिफारिस फिर्ता गर्न एमालेको माग भए पनि वैदेशिक शक्तिहरूको दबाबका कारण कार्की अख्तियार प्रमुख भएको बताए ।

प्रतिक्रिया