नेविसंघका नेताहरुलाई आक्रमणको धम्की

काठमाडौं, २६ वैशाख । नेपाल विद्यार्थी संघले आफ्ना नेताहरुलाई एमाओवादी निकट अखिल क्रान्तिकारीले आक्रमणको धम्की दिएको भन्दै सुरक्षाको माग गरेको छ ।
नेविसंघले शुक्रबार विज्ञप्ति जारी गरेर आफ्ना विद्यार्थी नेताहरुको सुरक्षाको माग गरेको हो । बैशाख–२३ गते शंकरदेब क्याम्पसमा संगठन विस्तारका क्रममा नेविसंघसँग झडप भएको थियो ।
झडपमा आफ्ना कार्यकर्ता घाईते भए पछि वाईसियललाई क्याम्पसहातामा प्रवेश गराउने गरेको नेविसंघको आरोप छ ।
‘झडपको घटना पश्चात वाईसियलका हतियारधारी जत्था पटक/पटक क्याम्पस परिसरमा प्रवेश गरी नेविसंघका साथीहरुलाई आक्रमणको प्रयास भएको छ,’ विज्ञप्तिमा भनिएको छ । नेविसंघले क्याम्पस परिसको सुरक्षा व्यवस्था मजबुद गर्न पनि नेपाल सरकारसँग माग गरेको छ ।
बैशाख–२३ गते नेविसंघ र अखिल क्रान्तिकारीबीच शंकरदेव क्याम्पसमा झडप भएको थियो । झडपमा अखिल क्रान्तिकारीका केही विद्यार्थी घाईते भएका थिए ।
आक्रमणमा संलग्न रहेको भन्दै अखिल क्रान्तिकारीले शंकरदेबका स्ववियू सभापति शुभराम बस्नेतलाई पटक/पटक ज्यान मार्ने धम्की दिने गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया