नेपाललाई निरन्तरताको चुनौती

acc-u-19-logoकाठमाडौं, २७ वैशाख । एसियाली क्रिकेट काउन्सिल(एसिसी) यु–१९ एलिट कपमा नेपाल पछिल्ला सातमध्ये ६ संस्करणमा फाइनल प्रवेश गर्‍यो जसमध्ये चारमा विजेता बनेको थियो ।  सन् २००९ को संस्करणमा अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएपछि नेपालको लगातार चार संस्करणको विजयी यात्रा तथा लगातार पाँचपटकको फाइनल यात्रा टुंगिएको थियो ।
तर, पछिल्लोपटक सन् २०११ मा भएको संस्करणमा नेपाल  फाइनल यात्रा तय गरेर पुरानो यात्रामा फर्किन सफल भयो । यहाँ फाइनल यात्राको प्रसंग यस अर्थमा ल्याइएको हो कि  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यु–१९ विश्वकप खेल्न यो महत्त्वपूर्ण छ । विगतका दुई संस्करणअघि यस प्रतियोगिताको विजेता सोझै उक्त विश्वकपमा सहभागी हुन्थे र पछिल्ला दुई संस्करणमा दुवै फाइनललिस्टले विश्वस्तरको छनोट खेलेर मात्र यु–१९ विश्वकपमा प्रवेश पाउँथे ।  तर, यसपटकदेखि पुन: विजेतालाई सोझै विश्वकपमा सहभागी गराइने प्रावधान आइसिसीले ल्याएको छ ।
शुक्रबार यसै प्रतियोगिताको सेमिफाइनलमा युएइविरुद्ध भिड्दा नेपाललाई उपाधि यात्रामा फर्किनुका साथै विश्वकप सहभागिताको क्रमलाई कायम राख्नुपर्ने चुनौती रहनेछ ।  १० टेस्ट मान्यता प्राप्त टोलीसमेत सहभागी हुने आइसिसी यु–१९ विश्वकपको आगामी संस्करणमा युएई आयोजकका रूपमा यसअघि नै छनोट भइसकेको छ । युवा विश्वकपका रूपमा समेत परिचित यु–१९ विश्वकपमा नेपाल यसअघि ६ पटक सहभागी भइसकेको छ ।
मलेसियामा भइरहेको एसिसी यु–१९ एलिट कपमा नेपालले समूह चरणका सबै खेलमा जित हात पार्‍यो भने युएईले अफगानिस्तानबाहेक अन्य सबै टोलीलाई हराएर आफ्नो समूहको उपविजेता बन्यो । नेपालको जितमा बलिङ हाबी भएको थियो भने युएईको जितमा ब्याटिङ । नेपालका फास्ट बलर अविनाश कर्णले चार खेलमा १९ विकेट लिएर सर्वाधिक विकेटकर्ताको सूचीमा आफूलाई शीर्षस्थानमा राखेका छन् । उनले पछिल्ला दुई खेलमा १४ विकेट लिए । यता युएईका  डी डिसौजाले चार खेलमा २ सय ३८ रन बनाएका छन् । उनी सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।  उनले एक खेलमा सर्वाधिक ७९ रन जोडेका थिए । यी अलराउन्डरले पाँच विकेटसमेत लिएका छन्  । ब्याटिङतर्फ युएईका जमिन जलिल र साजिद खानले पनि राम्रो प्रदर्शन गरिरहेका छन्  । नेपालका लागि  अमित श्रेष्ठले सर्वाधिक १ सय ४८ रन (चार खेलमा) बनाएका छन् ।
शुक्रबार नै हुने अर्को सेमिफाइनलमा अफगानिस्तान र मलेसिया भिड्ने छन् । युएईले नेपाललाई पराजित गरे अफगानिस्तान र मलेसियाबीचका खेलमा विजयी हुने टोली सोझै आइसिसी यु–१९ विश्वकपमा छनोट हुनेछ । पछिल्लो संस्करणको विजेता अफगानिस्तान विजयी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया