अवैध विद्यालय बन्द

राजविराज, २७ वैशाख । गैरकानुनी रूपमा वर्षौंदेखि सञ्चालित सप्तरी सदरमुकाम राजविराजका आधा दर्जन निजी विद्यालय बिहीबारबाट बन्द गराइएको छ । जिल्ला शिक्षा कार्यालय, सप्तरीले ती विद्यालयलाई पुन: सञ्चालन गर्न नपाउने गरी बन्द गराएको हो ।
विद्यालयलाई कानुनी दायरामा ल्याउन कार्यालयले गरेको पटक–पटकको आग्रहलाई बेवास्ता गरेपछि बन्द गरिएको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले जानकारी दिए । कार्यालयले राजविराज–९ को शुभम् रिलायन्स एकेडेमी, हिमालय टोलको ग्यालेक्सी इंग्लिस बोर्डिङ स्कुल, इटहरी विष्णुपर–८ को गुरुकुल एकेडेमी, ३ को श्री साइराम इंग्लिस बोर्डिङ स्कुल, बसबिट्टी–४ को ग्लोबल इंग्लिस बोर्डिङ स्कुल र मलेठ–४ को विस्डम इंग्लिस एकेडेमीलाई बन्द गराएको अधिकारी भण्डारीले बताए ।
विद्यालय निरीक्षक मुक्ता पोखरेलको संयोजकत्वमा प्याब्सन, एनप्याब्सन र नेपाल प्याब्सनको टोलीले विद्यालय बन्द गराएको भण्डारीले जानकारी दिए । यसअघि विद्यालय बन्द गर्न कार्यालयले जारी गरेको ७ दिने समयसीमालाई समेत अटेर गरेपछि ती विद्यालय बन्द गरिएको उनको भनाइ छ । जानकारीअनुसार कार्यालयले जिल्लाभरिकै गैरकानुनी विद्यालय बन्द गर्न १० वटा टोली बनाएको छ । मन्त्रालय विभाग तथा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयले विद्यालय बन्द गर्न पटकपटक सर्कुलर जारी गरेपछि शिक्षा कार्यालयले यस्तो निर्णय गरेको जनाइएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले समेत जिल्लाको ट्राफिक बजार शम्भुनाथस्थित स्वर्णिम विद्यामन्दिर, रूपनीस्थित गोदावरी बोर्डिङ स्कुल, माँ भगवती बोर्डिङ स्कुल, कठौनास्थित भिजन बोर्डिङ स्कुल र लिटिल एन्जल बोडिर्ङ स्कुल बन्द गर्न निर्देशन दिइसकेको छ । स्थानीय केही व्यक्ति तथा बोर्डिङ स्कुल सञ्चालकले अनुमतिविना विद्यालय सञ्चालनमा रहेको जनाउँदै यसविरुद्ध उजुरी परेपछि बन्द गर्न निर्देशन दिइएको प्रशासनका शाखा अधिकृत विष्ण्ुारञ्जन बरालले बताए । जानकारीअनुसार सदरमुकाम राजविराजलगायत जिल्लाका विभिन्न स्थानमा करिब ६० वटा गैरकानुनी बोर्डिङ स्कुल सञ्चालनमा छन् ।

प्रतिक्रिया