पन्ध्र मुलुकमा मेरा डिजाइन

Bishow-Gautamसन् १९८७ तिर हामी सपरिवार नेपाल फर्कियौँ । बुबा बिजनेसका लागि भारत पस्नुभएकाले मेरो जन्म त्यहीँ भएको थियो, सिलोनमा । बुबा काठको बिजनेस गर्नुहुन्थ्यो । फर्कंदा मैले ४ कक्षासम्मको अध्ययन सकेको थिएँ, ७–८ वर्षको हुँदो हुँ । स्वदेश पर्किएपछि बुबाबाट प्रेरित भएर दाइ र दिदीहरू सबै बिजनेसतिरै लागे । मेरो ध्यान पनि त्यतैतिर खिचिइरहेको थियो । हुन त बिजनेसकै आकर्षण सबैतिर थियो, उतिबेला पनि ।
बिजनेसमा पनि फेसन डिजाइनर नै बन्छु भन्ने सोच कहिल्यै पलाएको थिएन । न त कुनै फेसन डिजानरसँग संगतै गरेको थिएँ । जेसुकैको भए नि व्यवसाय गर्नुपर्छ, धेरैलाई रोजगारी दिनुपर्छ भन्ने ध्याउन्न मात्र थियो । घरका सबै जना एकै खाले बिजनेसमा रहेकाले मचाहिँ अलिक फरक तरिकाको बिजनेस गर्न चाहन्थेँ । बुझेको थिएँ– यसो गरे फरक पहिचान बनाउन सकिन्छ । त्यसैले परिवारमा कसैले नगरेको फेसन डिजाइनिङमा हात हालेँ । तर, अवस्था यस्तो थियो कि त्यससम्बन्धी केही ज्ञानै थिएन । फेसन भनेको के हो पनि जान्दैनथेँ । स्कुल अध्ययन पूरा गरिसक्दा पनि फेसन बुझेको थिइनँ । तर, आफू कसरी टिपटप बनेर हिँड्ने, कसरी आकर्षक देखिने भन्नेतिर भने निकै ध्यान दिन्थेँ । सधैँ अरूभन्दा आकर्षक बनेर हिँड्न मन लाग्थ्यो । अज्ञानकै अवस्थाबाट प्रवेश गरे पनि आज फेसन डिजाइनमै स्थापित भइसकेको छु । आफैँलाई अचम्म लाग्छ ।
नेपालमा अहिले त फेसनप्रति सर्वसाधारणको चासो छैन भने उतिबेला झन् कस्तो अवस्था हुँदो हो ? यसो हुनुमा नेपालीहरूको आम्दानी कमजोर हुनु पनि एउटा कारण हो । पछिल्लो समय कुनै–कुनै वर्गको ध्यान फेसनले ताने पनि उत्साहित हुने अवस्था छैन । त्यसैले सबैको ध्यान तान्न सबै वर्गको एप्रोच हुने गरी महिला–पुरुषका फेसनेबल डिजाइन बजारमा ल्याउने सुरसार गर्दै छु । मेरो बुझाइमा दुई हजारदेखि तीन हजार मूल्यसम्मका फेसनेबल सामग्री नयाँ र सुपर मोडलमा बजारमा ल्याउन सकिए सबैखाले वर्गले उपयोग गर्न पाउँछन् ।
प्लस टु सकेपछि म पढाइलाई थप बढाउने योजनामा थिएँ । त्यतिबेला मेरो ध्यान फेसनले तान्न थाल्यो, यसबारे केही बुझिसकेको पनि थिएँ । सन् २००३ तिर फेसनसम्बन्धी केही इन्स्टिच्युट चहारेँ । तर, ती सबैमा तीन महिने कोर्सबाहेक केही नभएकाले आकर्षित हुन सकिनँ । यस्तो ठाउँ खोजिरहेको थिएँ, जहाँ गहिरिएर फेसन अध्ययन गर्न सकूँ । दिन त्यत्तिकै बितिरहेका थिए । एक दिन पत्रिका पढ्दै जाँदा एउटा विज्ञापनमा आँखा पर्‍यो । नमुना कलेज अफ फेसन डिजाइनिङको त्यो विज्ञापनमा फेसन अध्ययन गराइने र सेसन पनि सुरु भइसकेको उल्लेख थियो । म पनि पुगिहालेँ ।
ब्याचलर पूरा गर्न एक वर्ष मात्रै बाँकी थियो । गार्मेन्टहरूमा फेसन डिजाइनिङसम्बन्धी काम पनि पाउँदै गएँ । आफ्नै शैलीले डिजाइनहरू तयार पार्न थालेँ, मन पराइए पनि । मप्रति सिनियरको प्रशंसा र मोह बढ्न थाल्यो । पद र सेवासुविधा थपिँदै गए । अध्ययनका सिलसिलामा कपडाको कटिङ, कन्सेप्टलाई डिजाइनमा उतार्ने अनि त्यसलाई अरूका भन्दा फरक अनि आकर्षक बनाउनेसम्बन्धी ज्ञान हासिल गरिसकेकाले गार्मेन्टमा काम गर्न कठिनाइ भएन ।
ब्याचलरमा तीनवर्षे कोर्स थियो । यिनै तीन वर्षमा फेसनलाई मिहिन तरिकाले बुझ्न पाएँ । Modelअध्ययनकै सिलसिलामा ठमेलको के एल इन्टर प्राइजेजमा काम पाएँ । काममा मेहनत गर्नु मेरो बच्चैदेखिको स्वभाव । यहाँ पनि त्यसैले काम गर्‍यो । मेरो पदोन्नति गराउँदै लग्यो । केही समयको अन्तरालमै कम्पनीको सबै पक्ष हेर्ने म्यानेजर भएँ । त्यसपछि त्यहाँ दुई वर्ष काम गरेँ ।
सन् २००८ तिर कलंकीको वासु कलेक्सनले म्यानेजर र फेसन हेडलगायत जिम्मेवारीमा मलाई जब अफर गर्‍यो । गएँ । यतिबेला ब्याचलर पूरा गरिसकेको थिएँ । तर, दुर्भाग्य † केही महिनापछि कम्पनी नै बन्द भइदियो । केही समय त निकै इरिटेट भएँ । अनि सम्हालिएँ, ‘अब आफैँ व्यवसाय सुरु गर्छु ।’ तत्काल आफ्नै नाममा कम्पनी सञ्चालनमा ल्याएँ ।
यो समय पाँचवटा सिलाइ मेसिनबाट सुरु गरेको व्यवसाय अहिले निकै फैलिइसकेको छ । पछाडि फर्केर हेर्नुपरेको छैन । बिजनेसमार्फत धेरैलाई रोजगारी दिने मेरो सानैदेखिको सपना पूरा भएको छ । सफलता दिनप्रतिदिन बढ्दै छ । मैले उत्पादन गरेका विभिन्न डिजाइन स्वदेशका एक्सपोर्ट केन्द्रहरूले बाहिर पठाउन थालेका छन् । परिणाम– आज मेरा सिर्जना दर्जनभन्दा बढी मुलुकमा पुग्छन् ।
२०११ मा नेपालकै हालसम्मको सबैभन्दा उत्कृष्ट फेसन शो सम्पन्न गरेँ, सोल्टीहोटलमा । त्यसैको प्रभावस्वरूप विश्वका १५ मुलुकबाट मेरा डिजाइनको माग आउन थालेको छ । यिनमा युरोप, अमेरिका, थाइल्यान्ड, सिंगापुर प्रमुख हुन् । अन्य मुलुक पनि छन्, जहाँ म नियमितजसो निर्यात गरिरहन्छु । केही समयपहिले क्यानडामा एउटा फेसन शो गरेर फर्किएँ । अर्काे हप्ता युरोप जाने तयारीमा छु । त्यसपछि फेरि अस्ट्ेरलिया र अमेरिकाका कार्यक्रम भ्याउनु छ । फुर्सद पाउनै गाह्रो ।
०००
तुलनात्मक रूपमा पछिल्लो समय नेपालमा पनि फेसनप्रति चासो र आकर्षण बढ्न थालेको छ । फेसन भन्नाले लुगा मात्र नभएर, खाना खाने र लुगा लगाउने शैली पनि बुझ्नुपर्छ । फेसन आफैँमा एउटा लाइफ स्टाइल हो । यसो भन्ने नेपाली धेरै भइसके । तर, चाहना हुँदा पनि आम्दानीले नधानिदिँदा मानिसहरू फेसनतिर वास्ता नगर्न बाध्य भएजस्तो लाग्छ ।
मेरा डिजाइनहरू सबैभन्दा बढी अमेरिकामा मन पराइएका छन् । मेरा उत्पादनको ७० प्रतिशत खपत पनि त्यहीँ हुन्छ । मैले अहिलेसम्म अरू कसैको डिजाइनबाट प्रभावित भएर त्यसको कपी गरेको छुइनँ । अलिकति मोडिफाई गरेर नयाँ रूपसमेत दिएको छैन । जे बनाउँछु, पूरै आफ्नै मौलिक कन्सेप्टकै बनाउँछु । काम गर्दै जाँदा कन्सेप्टहरू फुरिरहन्छन् । ती नयाँनयाँ आइडियालाई मेहनतपूर्वक डिजाइनमा उतार्छु । त्यसैले मेरा डिजाइन कसैसँग मेल खाँदैनन् ।
हुन त हाम्रोमा फेसन भन्नासाथ नारीको पहिरन बुझ्ने बढी छन् । मैले पनि सुरुमा महिलाकै पहिरन डिजाइन गरेको हुँ । महिला प्राकृतिक रूपमै सुन्दर हुने भएकाले उनीहरूलाई आकर्षक रूपमा प्रस्तुत गर्न पुरुषको तुलनामा सजिलो हुन्छ । महिलाको फेसन डिजाइन सजिलो पनि हुन्छ । गर्दै जाँदा पुरुषका कपडा पनि डिजाइन गर्न मन लाग्यो । उनीहरूको रुचि र डिजाइनको अध्ययन गर्न थालेँ । विदेशमा आफ्ना डिजाइन पुर्‍याउन जाँदा ग्राहकहरूले पुरुषका डिजाइन पनि तयार पार्न प्रेरित गरे, नमुनासमेत दिए ।
अहिले त फेसन र डिजाइनका नयाँनयाँ कन्सेप्टबाहेक अरू सोचै दिमागमा आउन छोडे । त्यसैले त अझै यो क्षेत्रमा उत्तिकै ताजा अनुभूतिसाथ काम गरिरहेछु । काम गरे पुग्छ, त्यसैले जताततै चर्चा दिलाउँछ भन्ने आफ्नो सोच सम्पूर्ण रूपमा सही हुन्छ भन्ने अहिले मलाई लाग्न छोडेको छ । कामलाई मिडियामा एक्सपोज गर्नु पनि उत्तिकै जरुरी रहेछ । नत्र जतिसुकै अब्बल काम गरे पनि परिचय ओइलाउँदै जाने रहेछ । मभन्दा पछि लागेकाहरू मिडियामा छ्यापछ्याप्ती भइरहेका छन् । देशविदेशमा आफ्ना पहिरनमार्फत नाम कमाए पनि मिडियाका मामिलामा चाहिँ आफू पछि परेजस्तो लाग्छ ।
आफ्ना परिवारले त मलाई अझै पनि डिजाइनरका रूपमा चिन्दैनन् । बस उनीहरूलाई यत्ति थाहा छ, मैले केही व्यवसायचाहिँ गरिरहेछु । कतिले अरूका डिजाइन तयार पारेर व्यवसाय गर्छन् भने म आफ्नै डिजाइनमा व्यवसाय गर्छु । घर मलाई फेसन डिजाइनरभन्दा व्यवसायीकै रूपमा बुझ्न चाहन्छ । भन्छन्– ‘फेसन डिजाइनर भनेको तपाईंले निर्वाह गरेको जिम्मेवारीभित्र सानो हो । तपाईं त पूरै Tकम्पनी म्यानेज गरेर बस्नुभएको छ । त्यसैले तपाईंलाई व्यवसायीकै रूपमा हेर्नुपर्छ र लिनुपर्छ ।’ परिवारले मेरो काममा मलाई कहिल्यै गाइड गर्नुपरेको छैन, साथ र सहयोग त भई नै हाल्छ ।
व्यस्तताका कारण परिवारमा उति धेरै समय बिताउन पाइँदैन । तर, घरमा रहँदा भान्सादेखिका सबै काम गर्न सक्छु । रमाइलो पनि लाग्छ । सानोमा पाइलट बन्ने चाहना थियो । सोच्थेँ– आकाशमा पुगेर संसार नियाल्दा कति रमाइलो होला ? फेसनमा लाग्नाले मेरो त्यो सपनाचाहिँ अधुरै रह्यो ।
मुलुक अहिले परिवर्तनशील छ तर कता लैजान खोजिएको हो, भेउ पाउँदिनँ । क्षमतावान् मानिस पलायन हुँदै छन् । क्षमताहीनलाई लिएर काम गर्नुपरिरहेको छ । निकै गाह्रो हुँदो रहेछ । एक त कम जानेकाहरू भनेकै बुझ्दैनन् । बुझे पनि निकै प्रयासपछि मात्र । कतिपय त पटकपटक बुझाउँदा पनि बुझ्दैनन् । आफैँलाई दिक्क लाग्छ, मुड अफ हुन्छ ।
पछिल्ला केही वर्षदेखि म नेपाली सेलेब्रिटीका पहिरनसमेत तयार पार्दै छु । गत वर्ष मिस नेपाल, मिस अर्थका लागि काम गरँ । निशा अधिकारी, माल्भिका सुब्बा, नीलम चन्द, सरिना मास्के, सहाना वज्राचार्य, सदीक्षा श्रेष्ठ, उषा रजकलगायत थुप्रै सेलेब्रिटीका लागि पहिरन तयार पारेको छु ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया