एजेन्डा मिल्नेसाग निर्वाचनमा सहकार्य : भण्डारी

Vidhya-Devi-Bhandariबर्दिया, २५ वैशाख । नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले आगामी संविधानसभा निर्वाचनमा एजेन्डा मिल्ने दलहरूसँग सहकार्य गर्न आफ्नो पार्टी खुला रहेको बताएकी छिन् । प्रेस चौतारी नेपाल बर्दियाले मंगलबार गुलरियामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले यस्तो बताएकी हुन् । निर्वाचनमा सहकार्य गर्न एमालले सबै पार्टीका लागि ढोका खुला राखेको उनले उल्लेख गरिन् ।
त्यसैगरी अखिल नेपाल महिला संघ अञ्चल समिति भेरीले गरेको अखिल नेपाल महिला संघको अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै भण्डारीले देश संविधान सभाको चुनावमा होमिइसकेको उल्लेख गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरिन् । एमालेलाई सबैभन्दा ठूलो पार्टी बनाउने दिशामा लाग्उन लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिइन् । अञ्चल स्तरीय प्रशिक्षण बुधबारसम्म सञ्चालन हुनेछ ।
अर्को प्रसंगमा उपाध्यक्ष भण्डारीले अख्तियार प्रमुखमा संवैधानिक परिषद्ले नियुक्तिको सिफारिस गरेका लोकमान सिंह कार्कीको विषयमा पहिलेदेखि नै पार्टीभित्र विवाद भएको बताइन् । राजनीतिक समितिले जनभावनाको कदर नगरी लोकमानको पक्षमा सहमत गरेको भन्दै पार्टीको शीर्ष नेतृत्वलाई जनभावनाको कदर गर्न उनले आग्रहसमेत गरिन् । यद्यपि, कार्की नियुक्तिको विषय प्रक्रियामा गाइसकेकाले यसबारे कुनै टिप्पणी नगर्ने उनले प्रस्ट पारिन् । ‘पार्टी नेतृत्वले समर्थन गरिसकेको र सर्वोच्च अदालतको आदेशपछि नियुक्ती प्रक्रिया अघि बढिसकेको विषयमा टिप्पणी गर्न चाहन्नँ,’ उनले भनिन् ।

प्रतिक्रिया