लिम्बुवान बन्दकर्ता पक्राउ

पाँचथर, २४ वैशाख । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् र नेकपा–माओवादीले आह्वान गरेको बन्द सफल गराउन सक्रिय दुई बन्दकर्तालाई सदरमुकाम फिदिमबाट पक्राउ गरिएको छ । फिदिम बजारमा सोमबार बिहान सवारीसाधन र पसल बन्द गराउँदै हिँडेका गणतान्त्रिक मोर्चाका पाँचथर सचिव दीपक खनाल र लिम्बुवान शिक्षक परिषद्का अध्यक्ष योगेश योङ्यालाई सशस्त्र प्रहरीले फिदिमको गणतन्त्रचोकबाट पक्राउ गरेको हो । यसैबीच बन्दकर्ताले फिदिममै एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएका छन् । ना २ ख ८२२३ नम्बरको ट्रक सामान बोकेर गन्तव्यतर्फ गइरहेको बेला बन्दकतौले चाबीसहित नियन्त्रणमा लिएका हुन् । बन्दकर्ताले ट्रक नियन्त्रणमा लिएको केहीबेरमै दुई बन्दकतौ पक्राउ परेका थिए ।
पाँचथरको लिम्बास्थित ६ नम्बर बुधबार भन्ने ठाउँमा सञ्चालित घुम्ती सेवा शिविर अवरोध गर्न गएका आफ्ना कार्यकर्ता पक्राउ परेको तथा धरपकट भएको भन्दै आह्वान भएको पूर्वका नौ जिल्ला बन्द तीन दिन यता जारी छ । बन्दले पूर्वीनेपालको जनजीवन प्रभावित भएको छ । शुक्रबार धनकुटामा सञ्चालित मतदाता नामावलीसहितको घुम्ती शिविर अवरोध गर्न पुगेका कार्यकर्तालाई
प्रहरीले बल प्रयोग गरी हटाएर शिविर सञ्चालन गराएको थियो । प्रहरीले सात कार्यकर्ता प्रक्राउ गरेपछि मेची कोसीका जिल्लामा आह्वान गरिएको बन्दको क्रममा ४० भन्दा बढी बन्दकर्ता पक्राउ परिसकेका छन् । यता पाँचथरका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वार्ताको प्रयास भए पनि आन्दोलनकारी केन्द्रमा मात्रै वार्ता गर्ने भनेर नआएको बताए । बन्द खुलाउने प्रयास जारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया