डिआइजी सरुवाको तयारी

काठमाडौं, २४ वैशाख । गृह मन्त्रालयले नेपाल प्रहरीका डिआइजीहरूको सरुवा गर्ने तयारी गरेको छ । गृहस्रोतका अनुसार संविधानसभा चुनावको मिति घोषणा हुनुअघि नै गृहले डिआइजीहरूको सरुवा गर्नेछ ।
स्रोतका अनुसार चुनावको मिति घोषण भएपछि सरुवा र बढुवा गर्न नमिल्ने भएकाले त्यसअघि नै डिआइजीहरूको सरुवा गर्ने तयारी गृहले गरेको हो । अहिले कार्यरत डिआइजीहरूको कार्यावधि भने अझै सकिएको छैन ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गत असारमा पाँच एआइजी र १९ डिआइजीको सरुवा गरेको थियो । अहिले कार्यरत डिआइजीहरूको कार्यावधि आउँदो असारमा सकिने भए पनि निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसअघि नै सरुवा गर्न लागिएको हो ।
‘निर्वाचनको मिति घोषणा भएपछि सरुवा र बढुवा गर्न आचारसंहिताले दिँदैन । त्यसैले पनि डिआइजीहरूको सरुवा हुने लगभग पक्का भएको छ,’ नेपाल प्रहरीको सचिवालय स्रोतले भन्यो । सरुवा हुनेमध्ये पहिलो लिस्टमा पाँचैवटै क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख रहेका छन् । पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा प्रमुख को हुने भन्ने पनि लगभग पक्का भइसकेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा डिआइजी विज्ञानराज शर्मा र मध्यमाञ्चलमा डिआइजी सुरेन्द्रबहादुर शाह जाने पक्का भएको स्रोतको दाबी छ । अहिले पूर्वमा डिआइजी पर्शुराम खत्री छन् भने मध्यमाञ्चलमा डिआइजी यादव अधिकारी प्रमुख छन् । डिआइजी शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् भने शाह प्रधान कार्यालयस्थित विशेष ब्युरोमा कार्यरत छन् ।
बाँकी तीन क्षेत्रीय प्रहरी कार्यालयमा भने कसलाई पठाउने टुंगो लागिसकेको छैन । अहिले पश्चिमाञ्चलमा प्रमुखका रूपमा डिआइजी रमेशशेखर वज्राचार्य, मध्यपश्चिममा डिआइजी टपेन्द्रध्वज हमाल र सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा डिआइजी सुशीलवरसिंह थापा कार्यरत छन् ।
स्रोतका अनुसार अहिले कार्यरत क्षेत्रीय प्रहरी कार्यालयका प्रमुखको कार्यक्षमता सन्तोषजनक छैन । संविधानसभा चुनाव गराउन क्षेत्रीय प्रहरी कार्यालयको ठूलो भूमिका रहन्छ । यथास्थितिमा कार्यरत डिआइजीहरूको नेतृत्वले संविधानसभा चुनाव गराउन नसक्ने निष्कर्षमा सरकार पुगेपछि उनीहरूको स्थानमा काबिल मानिएका डिआइजी लैजान लागिएको स्रोतले बतायो । ‘क्षेत्रका प्रहरी प्रमुख कोही बिहानैबाट जाँड खाएर टिल्ल हुन्छन् । कोही पैसा कमाउनबाहेक अन्य काम गर्दैनन् । यिनीहरूले संविधानसभा चुनावमा कसरी सुरक्षाबहाल गर्न सक्छन्,’ स्रोतले भन्यो ।
प्रहरीले भने डिआइजी सरुवाको अधिकारिक धारणा सार्वजनिक गरेको छैन । प्रवक्ता तथा डिआइजी केशव अधिकारीले डिआइजी सरुवाबारे आफूलाई आधिकारिक रूपमा थाहा नभएको बताए । ‘डिआइजी सरुवाबारे अधिकारिक रूपमा थाहा छैन,’ उनले भने ।

प्रतिक्रिया