घुम्ती शिविरमा जनतालाई ठगी

हुम्ला, २३ वैशाख । नेकपा–माओवादीको विरोधका बाबजुद सरकारले आरम्भ गरेको एकीकृत नागरिकता वितरण घुम्ती शिविरमा जनता दिनदहाडै ठगिएका छन् । चर्को शुल्क तिर्नेलाई मात्र शिविरबाट नागरिकता वितरण भएपछि सर्वसाधारण ठगिएका हुन् । हुम्लाको उत्तरी भेगका गाविसबासी ठगिएका हुन् । सदरमुकाम सिमिकोटबाट उत्तरतर्फका गाविसबासीले नागरिकता लिन अनुसूची फारमलगायत सबै प्रक्रियामा झन्डै चार गुना दस्तुर तिरे । सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको नेतृत्वमा खटिएको टोलीले नागरिकताको प्रमाणपत्र, चीन पारवहन अनुमतिपत्रलगायत वितरण गर्न सर्वसाधारणबाट चर्को मूल्य लिएको हो । नाम नबताउने शर्तमा एक स्थानीयका अनुसार १८ वैशाखदेखि सो स्थानमा खटिएको सहायक प्रमुख जिल्ला अधिकारी परियार नेतृत्वको टोलीले नागरिकताका लागि जिल्ला विकास समितिबाट १५ रुपियाँमा खरिद गर्न पाइने अनुसूची फारमलाई टोलीले एक सय रुपियाँ, नेपाली नागरिकताको प्रमाणपत्र नि:शुल्क रूपमा प्रदान गरिने भएता पनि दुई सयका दरले असुलेको छ । त्यसैगरी टोलीले चीन प्रवेशको सीमा पारवहन पासको लागि सय रुपियाँ उठाएको छ । टोलीका लागि सरकारले दैनिक भत्ता छुट्याएको भए पनि टोलीले विभिन्न शीर्षकमा गरेको ३९ हजार रुपियाँँको बिल मुचु गाविसका सचिव भीम रोकायाको हातमा थम्याइएको छ । ८ वैशाखदेखि जिल्लाको साँया गाविसको सर्केघार्डबाट सुरु भएको शिविरमा टोलीको खानपानलगायत खर्चको भुक्तानी गाविसलाई गर्न लगाउनुका साथै  अनुसूची फारमका लागि समेत चर्को मूल्य तिर्नु परेको स्थानीयले गुनासो गरेका हुन् ।
शिविर जाने कर्मचारीका लागि दैनिक खानाका लागि पाँच सय र बासका लागि चार सय भत्ता दिए पनि सहायक प्रमुख जिल्ला अधिकारी परियारको टोलीले नियमविपरीत खाना खर्चको बिल गाविसलाई तिर्न कर गरेको छ । साँयाको सर्केघार्ड र खार्पुनाथमा समेत शिविरमा भएको खर्चको बिल तिर्न टोलीले स्थानीय गाविसलाई दबाब दिएको खुलेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत दिइने खर्च नपुग्ने भएपछि स्थानीय गाविसलाई केही आर्थिकभार व्यहोर्न भनिएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । प्रचारमा आएजस्तो आफूहरूले दबाब नदिएको उनले बताए ।

प्रतिक्रिया