चुनावमा केन्द्रित हुन सरकारलाई सुझाव

पाँचथर, २३ वैशाख । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले मन्त्रिपरिषद्का सदस्य तथा संवैधानिक अंगका प्रमुखले राजनीतिक पार्टीविरुद्ध भाषण बाजी गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वर्तमान सरकार चुनावी सरकार भएकोले भाषण नभई चुनाव गर्नेतर्फ ध्यान केन्द्रित गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।
धेरै लामो समयसम्म देशले राजनीतिक अन्यौलताबाट निकास नपाएका कारण चुनावमार्फत देशलाई निकास दिन दलीय सहमतिबाट बनेको चुनावी सरकारका सदस्य र संवैधानिक अंगका प्रमुखले ‘दलहरूले सहयोग गरेनन्’ भनि भाषण बाजी गर्नुले शंका पैदा गरेको महतले बताए । आइतबार पाँचथरको सदरमुकाम फिदिममा नेपाल प्रेस युनियन पाँचथर शाखाले गरेको पत्रकार सम्मेलनमा महतले यस्तो बताएका हुन् । चुनावको मितिबारे महतले चुनाव सम्वन्धी ऐन अध्यादेश जारी नभइसकेकोले राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ अध्यादेश जारी भएपछि मात्र सरकारले चुनावको मिति तोक्ने जनाए । पछिल्लो समय नेपाली कांग्रेसले विपीको समाजवाद, चिन्तन र आदर्शलाई छाडेरबाट पछि नहट्ने महतले बताए । ‘विपीको आदर्श र चिन्तनलाई आत्मसात गरी अघि वढिरहेको छौँ, उहाँको आदर्श कहिल्यै छोड्ने छैनौँ,’ उनले भने ।
सरकारले गाउँ–गाउँमा गएर नागरिता
वितरण, फोटोसहितको मतदाता नामावली संकलन, अपांगता परिचयपत्र वितरण कार्यक्रमलाई बिथोल्ने प्रयास भइरहेकोमा दु:ख व्यक्त गर्दै आन्दोलनरत पक्षसँग शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे । यस्ता प्रवृति र कार्यले नेपाली राष्ट्रियता कमजोर हुने धारणा उनले राखे ।  महतले अब हुने संविधानसभाको चुनावमा कुनै पनि प्रतिस्पर्धी राजनीतिक शक्तिसँग तालमेल नहुने र आवश्यकता हेरेर निश्चित स्थानमा सहकार्य गरेर जाने बताए ।

प्रतिक्रिया