चार हजार नेपालीको कार्यावधि सकिदै

सोल, २२ वैशाख । रोजगार अनुमति प्रणाली इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया आएकामध्ये यो वर्ष चार हजार एक सय २० नेपाली कामदारको पहिलो कार्यावधि समाप्त हँदै छ । ०१३ को जनवरीदेखि डिसेम्बर २३ सम्ममा ती कामदारको कार्यावधि समाप्त हुने कोरिया सरकारले जनाएको छ ।
गत वर्ष आठ सय ३२ कामदारको कार्यावधि समाप्त भएको थियो । इपिएस कोरिया शाखा नेपालले सूचना जारी गर्दै कार्यावधि सकिएका कामदारलाई समयमै नेपाल फर्केर कमिटेड वर्क सिस्टम, सिबिटीलगायत अन्य प्रक्रिया पूरा गरेर रोजगारीका लागि पुन: कोरिया फर्कन सूचित गरेको छ । शाखाले उल्लिखित प्रक्रिया पूरा गरेर नेपाल, नेपाली र इपिएसलाई सफल बनाउन अनुरोध पनि गरेको छ ।
त्यसैगरी, कोरियामा रहेका अवैधानिक आप्रवासीमध्ये अन्य देशको तुलनामा नेपालीको संख्या थोरै रहेको भेटिएको छ । यहाँको अध्यागमन विभागले प्रकाशन गरेको तथ्यांकअनुसार करिब १७ हजार नेपालीमध्ये एक हजार नौ सय ८७ नेपाली मात्रै अवैधानिक छन् । जसमा ९ सय ५१ इपिएसमार्फत आएका हुन् ।
कोरियामा अवैधानिक रूपमा बस्नेको संख्या दैनिक बढिरहेको छ । अन्य देशको तुलनामा नेपालीहरू कुनै आपराधिक गतिविधिमा संलग्न भएको विवरणमा उल्लेख छ । रोजगारीका लागि आउने मात्र नभई व्यापारी, विद्यार्थी, प्राध्यापक, वैवाहिक भिसा, प्राविधिक, विशेषज्ञ, पर्यटक, कलाकार, खेलाडी, सामाजिक कार्यकर्ता, धार्मिक गुरु बनी आएका समेत अवैधानिक हुने गरेका छन् ।
हाल १४ लाख ७० हजार आठ सय ७३ आप्रवासीमध्ये १२ दशमलव २ प्रतिशत अर्थात् एक लाख ७९ हजार आठ सय ४६ अवैधानिक छन् । यो संख्या गत वर्षको तुलनामा ४ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो । इपिएसमार्फत रोजगारी गर्न आएका अदक्ष कामदार ५४ हजार नौ सय ५१ जनाले अवैधानिक काम गरिरहेका छन् । तथ्यांकअनुसार हालसम्म पानीजहाजमा काम गर्ने भिसामा आएका चार हजार ७८ जना अवैधानिक छन् । त्यसरी नै पर्यटक ५ हजार ७ सय ८६, कुक दुई हजार एक सय ९३, सांस्कृतिक भिसाबाट आएका एक हजार चार सय २९, शिक्षक ८०, विशेषज्ञ २१ प्राध्यापक १७, अनुसन्धानकर्ता १३ र प्राविधिक ३ अवैधानिक छन् ।
जसमा बढी चिनियाँ नागरिक अवैधानिक छन् । जसको संख्या ६९ हजार सात सय ७३ छ । त्यसपछि क्रमश: भियतनाममा २६ हजार पाँच सय १०, थाइल्यान्डमा १८ हजार तीन सय ४५, फिलिपिन्समा १३ हजार ६ सय ५२, मंगोलियामा आठ हजार ६ सय ३३, इन्डोनेसियामा ६ हजार दुई सय नौ, उज्वेकिस्तानमा चार हजार आठ सय ६६, बंगलादेशमा चार हजार ६ सय १८, श्रीलंका तीन हजार आठ सय १८, पाकिस्तानमा तीन हजार दुई सय ५३, कम्बोडियामा एक हजार आठ सय सात र म्यानमारमा एक हजार तीन सय एक जना अवैधानिक छन् ।
कोरियामा विकासोन्मुख देशका मजदुर मात्र नभई बेलायत, अमेरिका, जापान, क्यानडा, न्युजिल्यान्ड, अस्ट्ेरलियाजस्ता विकसित मुलुकबाट आएका नागरिकसमेत अवैधानिक हुने गरेका छन् । ती मुलुकमध्ये सबैभन्दा अग्रपंतिmमा अमेरिका छ । यहाँ तीन हजार ५० जना अमेरिकी अवैधानिक छन् । त्यसैगरी, जापानी आठ सय ५४, भारतीय नौ सय ६८, रसियन नौ सय ९७, बेलायती ९५, अस्ट्रेलियाली तीन सय १२, ताइवानी नौ सय नौ, न्युजिल्यान्ड एक सय ३९, हङकङ दुई सय दुई र अन्य देशका ६ हजार सात सय ५३ जना अवैधानिक छन् । कोरियाले इपिएसमार्फत एसियाका १५ देशबाट अदक्ष कामदार आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया