अपांगमैत्री सडक बनाउन पहल

काठमाडौं, २२ वैशाख । राजधानीको जोरपाटी चोकदेखि नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रसम्म अपांगमैत्री सडक निर्माणका लागि पहल थालिएको छ ।
अपांगमैत्री सडक निर्माणको उद्देश्यका साथ शनिबार बौद्ध स्तुपादेखि जोरपाटी चोकसम्म जनचेतनामूलक सहयोग संकलन कार्यक्रम सम्पन्न भएको छ । कलाकार हरिवंश आचार्य, गायिका आनीछोइङ डोल्मा र पत्रकार कनकमणि दीक्षितको अगुवाइमा जनचेतनामूलक सहयोग संकलन कार्यक्रम सम्पन्न गरिएको हो । जनचेतनामूलक सहयोग संकलन कार्यमा स्थानीय बासिन्दा र अपांगता भएका व्यक्तिहरूले समेत उल्लेख्य मात्रामा सहभागिता जनाएका थिए ।
जोरपाटी चोकदेखि नारायणटार पुलसम्म सय मिटरको दूरीमा नमुनाका रूपमा सडकको दुवै भागमा अपांगमैत्री सडक निर्माण गरिने खगेन्द्र अपांग मैत्रीमार्ग अभियान कार्यान्वयन समितिका सचिव ऋषि ढकालले जानकारी दिए । इन्जिनियर अरूणदेव पन्तको डिजाइनमा दुवैतिर गरी दुई सय मिटर सडकलाई सबै खालका अपांग हिड्न मिल्ने गरी बनाइने समितिका अध्यक्ष नारायणबहादुर भण्डारीले बताए । उनीहरूका अनुसार १५ जेठदेखि अपांगमैत्री सडक निर्माण थालिनेछ ।
संयुक्त राष्ट्रसंघले सन् २००६ मा अपांगमैत्री सडक निर्माणसम्बन्धी घोषणा गरेको थियो । त्यसलाई नेपाल सरकारले १७ डिसेम्बर सन् २००९ मा अनुमोदन गरेको थियो । राष्ट्रसंघीय घोषणा अनुमोदनको चार वर्ष बिते पनि सरकारले कुनै पनि स्थानमा अपांगमैत्री सडक निर्माण नगरेकाले आफूहरू यो अभियानमा लागिपरेको पत्रकार दीक्षितले प्रतिक्रिया दिए ।

प्रतिक्रिया