कार्कीलाई अख्तियार प्रमुख बनाइने सम्भावना

Lokmanshin-Karkiकाठमाडौं, २२ वैशाख । लामो समयदेखि पदाधिकारीविहीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने विषयमा सहमति जुटाउन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले छलफल थालेका छन् । नियुक्तिबारे निर्णय लिन आज(आइतबार) संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।
संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका रेग्मीले शनिबार कार्कीको नियुक्तिमा सहमति जुटाउन छलफल गरेका छन् । स्रोतका अनुसार आइतबारको परिषद् बैठकबाट कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय गर्ने मनस्थितिमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मी छन् ।
प्रमुख दलका शीर्ष नेताहरू रहेको उच्च स्तरीय राजनीतिक समितिले यसअघि नै कार्कीलाई अख्तियार प्रमुख बनाउन सरकार समक्ष सिफारिस गरेका थिए । सर्वोच्च अदालतमा आफू विरुद्ध परेको रिटमा पनि कार्कीले सफाइ पाइसकेका छन । तैपनि, पछिल्लो समय सिफारिस गर्ने दलकै केही नेताले कार्कीका विरुद्धमा आवाज उठाउन थालेपछि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सहमतिका लागि छलफलको पहल गरेका हुन् । रेग्मीले मन्त्रीहरू र दलका नेताहरूसँग यसबारे छलफल गरेका छन् ।
कार्कीलाई सर्वोच्चले सफाइ दिएलगत्तै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले नियुक्तीका विषयमा दलका नेताहरूसँगको आन्तरिक छलफल अघि बढाएका थिए । उनले शुक्रबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए भने शनिबार संवैधानिक परिषद्का सदस्यसमेत रहेका गृहमन्त्री माधव घिमिरे र सञ्चारमन्त्री माधव पौडेलसँग छलफल गरेका हुन् ।
स्रोतका अनुसार कार्कीका बारेमा परिषद्का सदस्यहरूबीच समान धारणा बनाउन अध्यक्ष रेग्मीले मन्त्रीहरूसँग छलफल गरेका हुन् । सरकारलाई सहयोग गर्ने उद्देश्यसहित बनाइएको उच्चस्तरीय समितिले सिफारिस गरेको र अदालतले पनि सफाइ दिइसकेकाले कार्कीलाई अख्तियारमा नियुक्त गर्दा फरक नपर्नेमा उनीहरू एकमत रहेको स्रोतले जनाएको छ ।
शुक्रबार एमाओवादी अध्यक्ष दाहालले कार्कीलाई नियुक्त गर्ने विषयमा प्रमुख दलहरू एकमत रहेको रेग्मीलाई बताएका थिए । उनले उच्च स्तरीय समिति आफ्नो निर्णयमा दृढ रहेको जानकारी मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई गराएका थिए ।
शनिबार मन्त्रीहरूसितको छलफलमा अन्य संवैधानिक निकायमा रिक्त प्रमुुख तथा पदाधिकारी नियुक्तीका विषयमा समेत छलफल भएको थियो । निर्वाचनसम्बन्धी अध्यादेश तथा निर्वाचनको मिति तय लगायतका विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले प्रेस सल्लाहकार विमल गौतमले अध्यक्ष रेग्मीसँग सबै मन्त्रीहरूले निरन्तर छलफल गर्ने गरेकाले शनिबारको छलफल पनि नौलो नरहेको बताए ।

प्रतिक्रिया