माओवादीसहितका दलद्वारा आयोग घेराउ

Elecatation-Commisionकाठमाडौं, २० वैशाख । प्रमुख चार राजनीतिक शक्तिको निर्णय र वर्तमान सरकारको विरोध गर्दै आएका नेकपा–माओवादीसहित ३३ दलले आज निर्वाचन आयोगको कार्यालय घेराउ गरेका छन् ।
काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालयमा नारावाजी र झण्डासहित पुगेका नेता, कार्यकर्ताले वर्तमान सरकारको विघटन र दलीय सरकारको माग गरेका थिए । उनीहरुले यथाअवस्थामा निर्वाचन हुन नसक्ने समेत जनाए ।
निर्वाचन आयोगमा भएको घेरा र धर्नाका कारण सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । कार्यालय समयमा भएको घेराउले गर्दा सयौं यात्रु मर्कामा परेका हुन् ।
विभिन्न दलहरु आन्दोलनमा रहेको देख्दादेख्दै पनि दल दर्ता र नवीकरणका लागि निवेदन लिने काम सुरु गरेका विरुद्ध आयोग कार्यालयमा धर्ना र घेराउ गरिएको नेकपा–माओवादीका सचिव देव गुरुङले जानकारी दिए । उनले माग पुरा गराउ थप कडा आन्दोलन गरिने समेत बताए ।
नेकपा–माओवादीसहितका साना दलहरुले आफूहरुले अघि सारेका मागको सुनुवाई नभए निर्वाचन र दल दर्ताको प्रक्रियामा सहभागी नहुँने चेतावनी दिएका छन् ।

प्रतिक्रिया