ढल सुधारका लागि एडिबीको आठ करोड

काठमाडौं : एसियाली विकास बैंक (एडिबी)ले काठमाडौंको ढल निकास सञ्जाल विस्तारका लागि ऋण प्रस्ताव स्वीकृत गरेको छ । उपत्यकाको ढल निकास प्रणालीलाई आधुनिकीकरण, सञ्जाल विस्तारका लागि ८ करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको हो ।
‘व्यवस्थित ढल निकास प्रणालीले स्वास्थ्य र जनजीवनमा सुधार र काठमाडौंको नदी प्रदूषणमा समेत कमी आउनेछ,’ एडिबीको दक्षिण एसिया विभागका विशेष वरिष्ठ सहरी विकास विशेषज्ञ मनोज शर्माले भने ।
एडिबीले सरकारसँग मिलेर सन् २००० देखि काठमाडौं उपत्यकामा खानेपानी व्यवस्थापनका लागि कार्यपरियोजना अगाडि बढाइरहेको छ । यसमा साढे २७ किलोमिटर लामो मेलम्ची सुरुङसमेत पर्छ । परियोजना समाप्त भएपछि काठमाडौं उपत्यकामा सन् २०१६ बाट दैनिक १७ करोड लिटर पानी भित्रिनेछ । हाल काठमाडौंमा दैनिक १० करोड लिटर मात्र पानी वितरण भइरहेको छ ।
२५ लाखभन्दा बढी मानिस बसोवास गर्ने नेपालको सबैभन्दा बढी जनघनत्व भएको काठमाडौंको जनसंख्या ०६८ को जनगणनाअनुसार वार्षिक ४ दशमलव ३ प्रतिशतले बढ्दै गइरहेको छ । जब कि नेपालको औसत जनसंख्या वृद्धि दर १ दशमलव ४ प्रतिशत मात्र छ । ढल निकासमा न्यून लगानीका कारण काठमाडौंवासीले बाग्मती र विष्णुमती नदीलाई ढल निकास गन्तव्यमा रूपमा प्रयोग गरिरहेको छ । सन् २०१८ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको व्यवस्थित ढल निकास आयोजनामा ५ सय १४ किलोमिटर ढल निर्माण गर्ने र फोहोर पानी प्रशोधनका लागि पाँच स्थानमा प्लान्ट निर्माण गर्ने कार्यक्रम छ । प्लान्टको दैनिक १ करोड ६० लाख लिटर ९ करोड लिटरसम्म फोहोर पानी प्रशोधन गर्ने क्षमता हुनेछ । आयोजनाको समय तालिकाअनुसार सन् २०१८ सम्म काठमाडांैको ८० प्रतिशत क्षेत्रफलको ढल निकासको फोहोर पानी संकलन गरिसक्ने लक्ष्य छ । यसबाट काठमाडौंका १९ लाख ६० हजार जनता लाभान्वित हुनेछन् । सन् २०१२ मा करिब १२ लाख मानिस मात्र ढल निकासको सञ्जालमा जोडिएका छन् ।
१३ करोड ७० लाख अमेरिकी डलरको यो आयोजनाका लागि नेपाल सरकारकाबाट ४ करोड ७ लाख अमेरिकी डलर र पेट्रोल निर्यात राष्ट्रहरूको अन्तर्राष्ट्रिय विकास कोष (ओएफआइडी)ले १ करोड ६३ लाख अमेरिकी डलर प्रदान गर्नेछ । एडिबीले ओएफआइडीसँग समन्वय गर्नुका साथै ३ लाख डलर अनुदानसमेत प्रदान गर्नेछ ।

प्रतिक्रिया