अर्थमन्त्री दिल्लीतिर

काठमाडौं : भारतको नयाँदिल्लीस्थित एसियाली विकास बैंकमा वैशाख १९ देखि २२ गतेसम्म हुने ४६औँ वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री शंकरप्रसाद कोइराला बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । वार्षिक रूपमा आयोजना हुने उक्त बैठकमा नेपालको तर्फबाट अर्थमन्त्रीको नेतृत्वमा अर्थसचिव शान्तराज सुवेदी, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव मधुकुमार मरासिनीलगायत ४ जनाको सहभागिता रहने र भारतस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत खगनाथ अधिकारी र महावाणिज्यदूत विष्णुप्रसाद लम्सालको समेत सहभागिता रहनेछ ।
एसियाली विकास बैंकको वार्षिक रूपमा हुने बोर्ड अफ गभर्नर्सको बैंठकमा बैंकको सहायता रणनीति, वित्तीय एवं लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन, खुद आयको बााडफााड, बजेट र स्रोतको विवरण, बैंकको नीति–नियममा पुनरावलोकनजस्ता विषयमा छलफल हुने कार्यक्रम छ । सो बैठकमा नेपाल सरकारको तर्फबाट गभर्नरको हैसियतले अर्थमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । साथै, मे ३ मा सार्क राष्ट्रहरूका अर्थमन्त्रीहरूको सातौँ अनौपचारिक बैठक हुने र सो बैठकमा सहभागी हुने अन्य सदस्य राष्ट्रहरूसँग नेपालको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्‍याउन द्विपक्षीय छलफलसमेत हुनेछ । त्यसैगरी, मे २ मा हुने सिनियिर अफिसियल मिटिङमा नेपालको तर्फबाट वैकल्पिक गभर्नरको हैसियतले अर्थसचिवले भाग लिने कार्यक्रम छ । यस संस्थाको संस्थापक सदस्यसमेत रहेको नेपालले यसअघिका बैठकमा पनि निरन्तर भाग लिँदै आएको छ ।

प्रतिक्रिया