मर्न थाले कुखुरा

Kukhurasरौतहट : रौतहटको चन्द्रनिगाहपुरमा पालेको ब्रोइलर कुखुरा फर्ममा नै मर्न थालेका छन् । रौतहटको चन्द्रनिगाहपुर, जुडिबेला र डुमरिया गाविसका किसानले पालेका ब्रोइलर कुखुरा दैनिक २० देखि ३० वटासम्म एउटा फर्ममा मर्न थालेपछि किसान लगानी डुब्ने डरमा चिन्तित बनेका छन् ।
चन्द्रनिगाहपुरका कुखुरा किसान रामकृष्ण बन्जाराले पालेको कुखुरा फर्ममा दैनिक २० देखि ३० वटा कुखुरा मरेपछि नष्ट गर्नुपरेको उनले बताए । एक हजार कुखुराको चल्ला पालेर बिक्री गर्ने बेलामा मरेपछि अहिले करिब ५ सय मात्र कुखुरा रहेको बन्जाराको भनाइ छ ।
पशु स्वास्थ्यकर्मीहरूले भने गर्मीमा कुखुरा मर्ने बताएका छन् । तर, धेरै कुखुरा मरेकाले के कति कारणले मरेको हो, परीक्षण नगरी भन्न नसकिने उनीहरूले बताए । रौतहट कुखुरा उत्पादक संघका अध्यक्ष विनोद पाण्डेले गर्मीले कुखुरा मरेको हुनसक्ने बताए । यसैबीच, रोगले मरेको कुखुरा काटेर मासु बिक्री गर्दै आएका चन्द्रनिगाहपुर बजारका रौनियार ट्रेडस एवं राज फ्रेस हाउसका सञ्चालक युगलकिशोर साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।
उनको फ्रेस हाउसमा बिक्रीका लागि राखिएको रोगले मरेका कुखुरा बरामद गरी परीक्षणका लागि जनकपुर पठाइएको छ ।
योसँगै अन्य स्थानमा पनि कुखुरा मर्ने क्रम सुरु भएको छ । बर्डफ्लुको संभावनसँगै कुखुरा मरेको हुनसक्ने आशंका बढेको छ । यही कारण जिल्लाका केही स्थानमा कुखुराको मासुको मूल्यसमेत घटेको छ ।

प्रतिक्रिया