घुम्ति शिविरमा सेवाग्राहीको भिड

गुल्मी, १८ वैशाख । आसन्न निर्वाचनको लागी निर्वाचन आयोग तथा गृह मन्त्रालयले गुल्मीमा संचालन गरेको घुम्ति शिविरमा सेवाग्राहीको भिड लागेको छ । जिल्लाका सरकारी कार्यालयहरुले गुल्मीको पुर्वी क्षेत्रका बिकट गाउँमा एकीकृत घुम्ति शिवर संचालन गरिरहेका छन् ।
गुल्मीको हर्मिचौरमा एकीकृत घुम्ति शिविर संचालन गरिसकेका गुल्मीका सरकारी कार्यालयहरुले अहिले पुर्तिघाटमा शिविर संचालन गरिरहेका छन् । बिहिबार सम्म चल्ने शिविरमा सेवाग्राहीको अत्याधिक भिड रहेको निर्वाचन आयोगका लक्ष्मण पाण्डेले बताए । हर्मिचौरको शिविरमा कुल ५ सय ६२ जनाले सेवा लिएका थिए ।
सोमबार देखि संचालन गरिएको पुर्तिघाटको घुम्ति शिविरमा पनि हाल सम्म १ सय ३४ पुरुष र २ सय २९ महिलाले नागरिकता बनाएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु घर्तिले बताए । त्यसै गरि ६२ पुरुष र ९७ महिलाले स्वास्थ्य सेवा, ३७ पुरुष र ३ महिलाले अपांगता परिचयपत्र, १ सय ६६ पुरुष र २ सय ५६ जनाले मतदाता नामालीमा नामदर्ता, ९८ पुरुष र ७६ महिलाले कृषि सेवा, ३ सय ५० पुरुष र ९७ महिलाले सिमकार्ड, १६ पुरुष र २७ महिलाले आयुर्वेद सेवा लिएका छन् । त्यस्तै ४ हजार हुलाक टिकट बिक्रि भएको घर्तिले बताए ।
सरकारी सेवावाट अधिकांश सेवाग्राहीहरु वञ्चित रहेका विशेष गरी पुर्तिघाट, अर्वेनी, फोक्सिङ्ग, खडगकोट, जयखानी, भुर्तङ्ग, भार्से लगायतका स्थानलाई मध्यनजर राख्दै पुर्तिघाटमा शिविर सञ्चालन गरिएको हो । शिविर बिहिबार सकिँदै छ ।

प्रतिक्रिया