“चालु खाता दक्षिण एसियाकै सबैभन्दा सन्तुलित”

काठमाडौं, १५ वैशाख । मुलुकको व्यापार घाटा अचाक्ली बढे पनि बढ्दो रेमिट्यान्स आप्रवाहका कारण चालु खाता भने सन्तुलित अवस्थामा नै रहेको छ । नेपाल राष्ट्र बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा गभर्नर डा. युवराज खतिवडाले चालु खाता दक्षिण एसियाकै सबैभन्दा सन्तुलित भएको बताए । चालु आर्थिक वर्षको पहिलो आठ महिनाको व्यापार तथ्यांक अनुसार वस्तु निर्यात ५ प्रतिशले वृद्धि भएको छ भने वस्तु आयात २२ दशमलव १ प्रतिशतले बढेको बताउँदै भने, ‘व्यापार घाटा २५ दशमलव ५ प्रतिशतले बढेर ३ सय ९ अर्ब ५५ करोड रुपियाँ पुगेको छ ।’

विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेका कारण मुलुकमा २ सय ६६ अर्ब ९ करोड रुपियाँ रकम भित्रिएको छ । नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रेमिट्यान्स आप्रवाह बढेकै कारण विदेशी विनिमय सञ्चिति पनि बढेको छ । गत असार मसान्तको तुलनामा फागुन मसान्तसम्म ३ दशमलव २ प्रतिशतले विनिमय सञ्चिति बढेर ४ सय ५३ अर्ब ६१ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा गणना गर्दा ५ अर्ब २३ करोड पुगेको छ । वर्तमान विनिमय सञ्चितिले १० दशमलव २ महिनाको वस्तु आयात एवं ८ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्थिति रहेको छ । विकास निर्माणमा खासै खर्च हुन नसकेका कारण नेपालको विनिमय सञ्चिति सम्भवत दक्षिण एसियाकै सबैभन्दा बढी समयसम्म धान्न सक्ने स्थितिमा पुगेको छ । विदेशी विनिमय सञ्चितिलाई विवेकपूर्ण लगानीमार्फत सुन तथा छिमेकी मुलुक भारत र चीनको मौद्रिक उपकरणमा समेत लगानी बढाएको उनले बताए । उनले १८ प्रतिशत निक्षेप बढ्दो करिब १९ प्रतिशतले कर्जा बढेको हुँदा खासै तरलता अभावको महसुस नहुने उनले बताए ।
मौद्रिक नीतिमा मूल्यवृद्धि ७ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरिए पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्यवृद्धि दुई अंकमा सीमित हुने संशोधित अनुमान गभर्नर खतिवडाले गरे । उनले आर्थिक परिसूचकहरू नकारात्मक नै रहे पनि मौद्रिक अनुशासनभन्दा बाहिर भने नरहेको बताए । सरकारको खातामा करिब ५७ अर्ब नगद रहेकाले बैकिङ प्रणालीमा तरलता अभावको समस्या देखिए पनि नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा एवं पूर्णबजेटसमेत आइसकेको अवस्थामा विस्तारै खर्च हुने हुँदा विस्तारै सहज हुँदै जाने उनले बताए ।
कर्जाको व्याज दरलाई व्यवस्थित गर्न आधार दर लागू गरिएको बताउँदै हाल न्यूनतम ६ दशमलव ७ प्रतिशत र अधिकतम ११ दशमलव ७ प्रतिशत एवं औसत साढे ९ प्रतिशतमा बैंकहरूको आधार व्याज दर रहेको हुँदा औसत १० प्रतिशतमा कर्जा विस्तार गर्न सकिने अवस्था रहेको उनले बताए । वाणिज्य वर्गमा पूर्ण रूपमा कार्यान्वयन भइसकेपछि ख, ग र घ वर्गका वित्तीय संस्थामा पनि क्रमश: आधार दर लागू गरिने कार्यक्रम रहेको गभर्नर खतिवडाले बताए ।
असल कर्जाको धितोमा प्रदान गरिएको पुन: कर्जा पनि पहिलो आठ महिनामा उल्लेख्य वृद्धि भएको छ । ६ प्रतिशतमा प्रदान गरिने उक्त पुन: कर्जाअन्तर्गत साधारण पुन: कर्जा १ अर्ब ५० करोड ४२ लाख रुपियाँ र निर्यात पुन: कर्जा ४४ करोड ७३ लाख रुपियाँ स्वदेशी मुद्रामा एवं २६ लाख बराबरको विदेशी मुद्रामा समेत पुन: कर्जा उपलब्ध गराइएको छ । खतिवडाले तीन वर्षभित्र बैंकर र व्यवसायी छुट्याउने बताए । बैंकर र व्यवसायी एउटै हुँदा बैंकको सुशासनमा समस्या आएकाले यसलाई हटाउनुपर्ने उनले बताए । आउँदो वर्ष नै बैंकर र व्यवसायी छट्याउन नसकिएला, तर तीन वर्षभित्र यो छुट्याइनेछ, गभर्नरले उद्घाटन कार्यक्रममा भनेका छन् । गभर्नरले दाताको इन्ट्ेरस्टमा वित्तीय क्षेत्र सुधारका लागि सहयोग नलिने पनि बताए । नेपालको आवश्यकता अनुसार दाताको सहयोग लिने जानकारी दिए । उनले दाताहरूले नेपालको भावनाअनुसार सहयोग गर्न मन्जुर हुन थालेको पनि जानकारी दिए ।

प्रतिक्रिया