मंसिरमा चुनाव गर्न आयोगको तयारी

elecation commition 1काठमाडौं, १५ वैशाख । संविधानसभा चुनावको मिति घोषणा भइनसकेको भए पनि निर्वाचन आयोगले भने मंसिरमा चुनाव गर्ने गरी काम अघि बढाएको छ । आयोगको ढिलाइका कारण ‘समयमा चुनाव हुन नसकेको’ भन्ने दोषबाट मुक्त हुने भन्दै आयोगले आन्तरिक तयारीलाई तीव्रता दिएको हो । चुनावका लागि आवश्यक प्राविधिक तथा अन्य कामलाई तीव्रता दिएपछि सरकार मिति तोक्न बाध्य हुने आयोगको बुझाइ छ ।

आयोगका प्रवक्ता मधु रेग्मीका अनुसार आयोगले चुनावको तयारीका लागि गर्नुपर्ने धेरैजसो काम सकिसकेको जानकारी दिएका छन् । ‘केही चुनावको मिति घोषणापछि मात्र अघि बढाउनुपर्ने भएकाले त्यसबाहेकका काम थालिएको छ,’ प्रवक्ता रेग्मीले भने । आयोगले अन्य आन्तरिक कामसँगै दल दर्ताको सूचना जारी गर्ने प्रक्रिया पनि अघि बढाइसकेको उल्लेख गर्दै रेग्मीले भने, ‘मंगलबारदेखि दल दर्ताको प्रक्रिय अघि बड्छ्, र सोही दिनदेखि चुनावमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दललाई आयोगमा दर्ता गराउन आग्रह गरिन्छ ।’ स्रोतका अनुसार आयोगले दलहरूलाई दर्ताका लागि एक महिनाको समय दिनेछ ।
सामान्यत: चुनावको मिति घोषणापछि मात्र आयोगले दल दर्ता प्रक्रिया अघि बढाउँछ । आयोगले सरकारको सल्लाहमै मिति घोषणाअघि नै दल दर्ता प्रक्रिया सुरु गर्न लागेको हो । दल दर्ताका लागि सूचना जारी गर्ने विषयमा सरकारसँग सहमतिसमेत भइसकेको छ । ‘यसका लागि आयोगले सूचना जारी गरेर काम अघि बढ्नेछ,’ आयुक्त अयोधीप्रसाद यादवले भने । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहित पदाधिकारीबीच शुक्रबार भएको छलफलमा चुनावका लागि आयोगमा दल दर्ता प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको थियो ।
सरकारका तर्फबाट पनि चुनावको तयारी पूरा गर्न सहयोग गर्नेमा विश्वस्त तुल्याउँदै रेग्मीले सबै काम चुस्त रूपमा अघि बढाउन निर्देशन दिएका थिए । ‘सोही निर्देशनअनुसार आयोगले यसअघि आन्तरिक रूपमा मात्र गरेको तयारीलाई सार्वजनिक रूपमै अघि बढाउने निर्णय गरेको हो,’ आयुक्त यादवले भने ।
सरकारको सहमतिमै आयोगले औपचारीक काम दल दर्ताबाट सुरु गर्न लागेको हो । आयुक्त यादवका अनुसार ०६४ सालमा अपनाइएको प्रक्रियाजस्तै गरी दल दर्ताका लागि आव्हान गरिनेछ । त्यतिखेर आयोगले दल दर्ताका लागि १० हजार सदस्यका हस्ताक्षरसहित निवेदन दिनुपर्ने व्यवस्था गरेको थियो । आयोगले यसपटक भने आयोगमा बुझाइएको हस्ताक्षरलाई प्रमाणीकरण गर्ने तयारीसमेत गरेको छ । एकै व्यक्तिले विभिन्न दलमा हस्ताक्षर गर्न सक्ने भएकाले हस्ताक्षरको प्रमाणीकरण गर्न लागेको हो । स्रोतका अनुसार यसअघि एक व्यक्तिले हरेक दलमा हस्ताक्षर गर्न पाउने प्रावधानलाई उल्टाएर एक व्यक्ति एक दलको नीति अख्तियार गरिन लागेको हो ।
आयोगले दल दर्ताका क्रममा बुझाइएका हस्ताक्षर सार्वजनिक गर्ने तयारीसमेत गरेको छ । आयोगले यसलाई पनि आन्तरिक तयारीकै रूपमा अघि बढाएको छ । यसअघि आयोगमा दर्ता भएका दलले बुझाएका हस्ताक्षर सार्वजनिक गर्ने गरेको थिएन । आयोगमा एक सय १९ दल दर्ता भए पनि संविधानसभामा सहभागी हुन पुन: दल दर्ता गराउनुपर्ने प्रावधान छ ।
प्रवक्ता रेग्मीका अनुसार आयोगले चुनावका लागि आवश्यक जनशक्ति, सुरक्षा योजनालगायत प्राविधिक काम पनि सकिसकेको छ । आयोगले अन्य प्राविधिक तयारीका लागि भने मिति घोषणापछिको १ सय २० दिन आवश्यक पर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया