अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुने

काठमाडौं : ‘सातौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०१३’ आजदेखि काठमाडौंमा सुरु हँदै छ । आगामी १५ गतेसम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा उक्त प्रदर्शनी हुने भएको हो ।
इन्डिजिनियस फिल्म अर्काइभ (आइएफए) ले आयोजना गरेको महोत्सवको नारा ‘सञ्चारमा आदिवासीहरूको समान पहुँच र सहभागिता’ रहेको छ । महोत्सवमा अस्ट्रेलिया, जर्मनी, भारत, ब्राजिल, क्यानाडा, कोलम्बिया, इक्वेडर, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, रुस, इथियोपिया, स्पेन, ताइवान, अमेरिका र ग्वाटेमालालगायत देशबाट छनोट गरिएका २७ वटा विदेशी चलचित्र, वृत्तचित्र एवं म्युजिक भिडियो प्रदर्शन गरिनेछ ।
प्रदर्शनीमा नेपालबाट चेपाङ, धिमाल, गुरुङ, मगर, राई, लिम्बू, नेवार, थारू समुदाय र आदिवासी सिनेकर्मीले निर्माण गरेका नेपाली भाषाका विभिन्न २३ वटा चलचित्र एवं म्युजिक भिडियो प्रदर्शनका लागि चयन गरिएको छ । सहभागी चलचित्रबाट प्रथम, द्वितीय र तृतीयलाई क्रमश: गोल्डेन ड्रम, सिल्भर ड्रम र ब्रोन्ज ड्रम प्रदान गरिनेछ ।
यस्तै, ‘नेपाल प्यानोरमा’ अन्तर्गत नेपालका विभिन्न आदिवासी समुदायको प्रतिनिधित्व गरेर आएका चलचित्र तथा आदिवासी चलचित्रकर्मीले बनाएका नेपाली भाषाका सिनेमामध्ये उत्कृष्ट हुनेलाई नगद र अवार्ड प्रदान गरिनेछ । नेपाल प्यानोरमाअन्तर्गत ‘इन्करेजमेन्ट अवार्ड’ पनि रहेको छ ।
महोत्सवमा विगतको जस्तै यसपटक पनि गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ भने आदिवासी जनजाति समुदायको संस्कृति झल्कने विभिन्न झाँकी, नृत्य र हस्तकला सामग्रीका स्टलसमेत राखिने भएको छ ।
महोत्सवका निर्देशक सञ्जोग लाफामगरले महोत्सवको महत्त्वपूर्ण पाटोका रूपमा आदिवासी जनजातिको खाना स्टल रहेको जानकारी दिए । (सौस)

प्रतिक्रिया