बाँकी काम नयाँ संविधानसभाले गर्छ : दाहाल

नेपालगन्ज, १२ वैशाख । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणका बाँकी काम नयाँ संविधानसभाले पूरा गर्ने बताएका छन् । यसअघिको संविधानसभाले ८० प्रतिशत काम टुंग्याएकाले बाँकी अब गठन हुने संविधानसभाले गर्नुपर्ने दाहालको भनाइ छ ।

लोकतन्त्र दिवसका अवसरमा बुधबार नेपालगन्जमा दोस्रो जनआन्दोलनमा सहादत प्राप्त गरेकी सेतु विकको सालिक अनावरणपछि दाहालले यस्तो बताएका हुन् । उनले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै नेपाली दोस्रो संविधानसभा चुनावमा सहभागी हुनुपर्ने धारणा व्यक्त गरे । ‘नेपाली जनताको ठूलो बलिदान तथा संघर्षबाट प्राप्त उपलब्धि कतै गुम्ने त होइन भन्ने चिन्ता उब्जेको छ,’ उनले भने, ‘त्यसकारण प्राप्त उपलब्धिलाई संस्थागत गर्न चुनावमा होमिनुको विकल्प छैन ।’
उनले शान्तिप्रक्रिया टुंग्याउने र संविधान लेख्ने दुई कामका लागि प्रयत्न गरिएको उल्लेख गर्दै शान्ति प्रक्रियाको विषय करिब–करिब टुंगोमा पुगिसकेको भए पनि राजनीतिक दलहरूको विमतिका कारण संविधान जारी गर्न नसक्दा पुन: संविधानसभा चुनाव गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको सुनाए । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लडाइँमा सहादत प्राप्त गर्ने सहिदको सपना पूरा गर्न अब फुटेर होइन, जुटेर राजनीतिक मुद्दा सल्ट्याउनुपर्ने उनको भनाइ थियो ।
बाँके जिल्ला विकास समितिको संयोजनमा दुई लाखको लागतमा सहिद सेतु विकको सालिक अनावरण कार्य सकिएको एलडिओ विश्वराज डोटेलले जानकारी दिएका थिए ।

प्रतिक्रिया