जंगबहादुर बन्न चाहन्थेँ

Dinesh-Dcकुनै बेला आफूलाई ‘आवाजको दुनियाँको साथी’ का रूपमा चिनाउने गरेका दिनेश डिसीको चर्चा विभिन्न कोणबाट हुने गर्छ । कुशल उद्घोषण, अभिनय एवं निर्देशनक्षमताको बलमा होस् वा बेलाबखत उनको नाममा जोडिएर आउने विवादित प्रसंगहरूबाट, दर्शकश्रोताको मनमा बसिरहेकै हुन्छन् । दुई दशकभन्दा लामो समय कलाक्षेत्रमा बिताइसकेका उनको व्यक्तित्व सञ्चारक्षेत्रमा पनि उत्तिकै सफल मानिन्छ । अभिनय एवं उद्घोषणमार्फत स्वदेशदेखि विदेशसम्म ख्याति कमाएका उनीसँग दुई दर्जनबढी मुलुकमा पुगेर कार्यक्रम सञ्चालन गरेको अनुभव छ । उनी निर्देशित पछिल्लो चलचित्र ‘मायाज बार’ केही समयअघि प्रदर्शनमा आएको थियो । यो दुईदशक बढीको सक्रिय पेसागत जीवनमा कस्ताकस्ता परिस्थिति सामना गरे त उनले ? केके छन् उनले बिर्सन नसकेका घटना ? तीमध्येका पाँचवटा प्रसंग उनकै शब्दमा :
नेपाल टेलिभिजनमा ‘ट्वाक्कटुक्क’ कार्यक्रम चलाउँदाताकाको कुरा हो । दर्शकश्रोताले प्रतिक्रियास्वरूप हजारौँ पत्र पठाउँथे । तिनै पत्र केलाउने क्रममा मेरो हातमा एउटा यस्तो पत्र आइपुग्यो, जहाँ लेखिएको थियो– ‘तपाईं टेलिभिजनमा बोलेको फोटो खिचेर पूजा कोठामा राखेकी छु । देउताको पूजा गर्दा तपाईंको तस्बिर पनि पुज्छु, तपाईंलाई सधैँ याद गर्छु ।’ गणेश मार्केट विराटनगरकी राई थरकी ती युवतीको चिठीको जवाफ मैले लिखित रूपमा पठाउन भ्याइनँ । वा, सकिनँ पनि होला ।
त्यही समयतिर किशोर सुब्बाले आयोजना गरेको एक फेसन सोका लागि म विराटनगरै पुगेँ । जहाँ मैले जीवनमै पहिलोचोटि असंख्य फ्यानको भीड सामना गर्नुपर्‍यो । उनीहरूलाई अटोग्राफ नदिई सुखै पाइनँ । सो क्रममा कार्यक्रम हलमा भन्दा बढी भीड म भएतिर ओइरियो, कार्यक्रमै अवरुद्ध हुन पुग्यो । आयोजकले मलाई बाहिर गएर अटोग्राफ दिन अनुरोध गरे । म बाहिरै गएँ । मसँग अटोग्राफ लिने र फोटो खिचाउने निहुँमा कार्यक्रममा सँगै आएका साथीसाथीबीच नै झगडा पो हुन थाल्यो । मैले ‘आज यहीँ नै बस्ने हो, भोलि बिहानैदेखि तपाईंहरूबीच नै रहुँला’ भनेपछि भीड केही साम्य भयो । त्यति गर्दा पनि जान नमानेकालाई व्यक्तिगत रूपमै भन्नुपरेको थियो– ‘अहिले जानुस्, भोलि बिहान तपाईंसँग मात्रै छुट्टै भेटौंला ।’
एकपटक कार्यक्रमका सिलसिलामा जापान पुग्दा त्यहाँका राजकुमार नारुहितोसँग भेट्ने मौका पाएँ, रोयल प्यालेसमै । उहाँले आफू नेपाल भ्रमणमा गएको र सराङकोटमा ट्रेकिङको अनुभव लिएको बताउनुभयो । नेपालबारे अरू पनि धेरै कुरा थाहा रहेछ उहाँलाई । म त्यतिबेला बक्सिङसँग पनि आबद्ध थिएँ । नेपालप्रति आत्मीय भएर उहाँले देखाएको व्यवहारले मलाई निकै छोयो । त्यो कुराकानी अझै याद आइरहन्छ ।
विश्वविख्यात पपगायक ब्रायन एडम्सको नेपालमा पहिलोचोटि आयोजित कन्सर्टमा उद्घोषणको जिम्मा मैलाई दिइएको थियो । सोलो उद्घोषक थिएँ । त्यसलाई म आफ्नो उद्घोषण जीवनको सबैभन्दा अद्भूत कार्यक्रम मान्छु । एडम्सका लागि निकै टाइट सेक्युरिटी व्यवस्था गरिएको थियो । कसैलाई पनि उनीसँग भेट्न दिइएको थिएन । कन्सर्टमा दर्शकको भीड यति थियो कि कोही हराए भेट्टाउनै मुस्किल । मैले पनि एडम्ससँग भेट्न पाएको थिइनँ । मैले आयोजकसमक्ष कुरा राखेँ, उनीहरूले मलाई कार्यक्रमको भोलिपल्टै सोल्टी होटल बोलाए । एडम्स कक्षा सुरक्षाबीच त्यहीँ राखिएका थिए । सेक्युरिटीका चिफ मिस्टर राणा थिए ।
उनले मलाई चिनेपछि रेस्पोन्स गरे अनि एडम्ससँग भेट्न लगे । तर, उनी रुमबाहिर निस्किइसकेका रहेछन् । धन्न, लिफ्टमा भेट भयो । हामीले त्यहीँ परिचय गर्‍यौँ । उनीसँग मैले खोजी प्रतिभाको टिसर्टमा साइन गराएँ । लिफ्टमा अर्की एउटी नेपाली केटी पनि थिइन् । मैले आफ्नो क्यामेरा उनलाई दिएर एडम्स र मेरो फोटो खिचिदिन आग्रह गरेँ । उनले नजानेजसरी केके मिलाउँदै थिच्न त थिचिछन् तर क्यामेरा भिडियो मोडमा गएछ । फोटोको सट्टा भिडियो खिचिएछ । पछि हेर्दा बोर लाग्यो । तर, त्यो भिडियो ‘खोजी प्रतिभाको’ कार्यक्रममा निकै काम आयो । मैले बुझेँ– हतारमा गरिएको काम पनि कहिलेकाहीँ राम्रै हुँदो रहेछ ।
भिक्टोरिया क्रस पाउने रामबहादुर लिम्बूको सम्मानमा आयोजित कार्यक्रमका लागि हङकङ गएको थिएँ । हङकङ जाने पहिलो अवसर भएकाले कार्यक्रमको दुई दिनअघि नै त्यहाँ पुगेको थिएँ, धेरै ठाउँ घुम्ने विचारले । दोस्रो दिन त्यहाँका एक मित्रले नाइट–लाइफ घुमाउन लैजाउनुभयो । धेरै डिस्कोमा पुगियो । सोही क्रममा नेपालीले चलाएको डिस्कोतिर लाग्यौँ । पाँचौँ तलामा रहेछ, हामी भर्‍याङ चढ्दै थियौँ । जतिमाथि पुग्यो उति चर्को अनि छाडा स्वरमा गाली गरेजस्ता आवाज सुनिन थाल्यौँ । हुँदाहुँदा सामान फुटेका आवाज आउन थाल्यो । मलाई दु:ख लाग्यो । माथि चढ्दै थियौँ, भित्रबाट फालिएको कुर्सी हाम्रो टाउको छेउबाट भुइँमा बजारियो । झन्डै लागेको । डिस्कोको यो अवस्था देखेर सँगैका भाइले भने– ‘अब पुलिस आउँछ, यहाँबाट गइहाल्नुपर्छ ।’ हामी माथि नै नपुगी ओर्लिएर होटलतिर लाग्यौँ । गायक नवीन के भट्टराई भर्खरै होटल आइपुगेका रहेछन् । उनी र मैले एउटै रुम सेयर गर्‍यौँ ।
भोलिपल्ट कार्यक्रमको मिटिङ थियो, म त्यतै लागेँ । नवीन सुतिरहेकै थिए । फर्कंदा नवीनलाई महिला फ्यानले घेरिरहेका रहेछन् । मैले पनि सबैसँग परिचय गरेँ । फ्यानले नवीनलाई लन्च प्रस्ताव गरे । मचाहिँ अर्को मिटिङ भएकाले नवीनलाई फ्यानका साथ पठाएर त्यतैतिर लागेँ । फर्किएर होटल आउँदा सबै साथी चिन्तित थिए । नवीनलाई पुलिसले पक्रिएर लगेछ । कारण– उनी अघिल्लो रात झगडा भएको ठाउँमा पुगेछन्, जहाँ पुलिसले सर्च गरेको रहेछ । सर्चका क्रममा पुलिसले ‘नेपाली हो ?’ भनेर सोधेछ । नवीनले के बिराएका थिए र ? ‘हो’ भनिदिएछन् । तर, नेपाली भन्नासाथ पुलिसले पक्रिहालेछ । त्यहाँ रहेका नेपालीको सहयोगमा उनलाई छुटाउन निकै पहल गर्‍यौँ । उनी गायक भएको र कार्यक्रमका सिलसिलामा आएको डकुमेन्ट देखाउँदा पनि पुलिसले मानेन । त्यहीँका दुई नेपाली ग्यारेन्टी बसिदिएपछि बल्ल छोड्न मान्यो । विदेश जाने क्रममा यो घटना अहिले पनि बारम्बार सम्झन्छु ।
नीर शाह दाइसँग कार्यक्रम सञ्चालनकै दिनदेखि मेरो राम्रो सामीप्य थियो । चलचित्र अभिनयका क्रममा त्यो सामीप्य अझ गाढा भएको थियो । उहाँ मलाई असाध्यै माया गर्नुहुन्छ पनि । त्यस बेला उहाँ ‘वसन्ती’ चलचित्र बनाउने तयारीमा हुनुहुन्थ्यो । अनि त्यसमा अभिनय गर्ने कलाकारहरूको नाम पत्रिकामा छपाउनुभएको थियो । सोचेँ– सबै टिम छानिसक्नुभएछ । नत्र मलाई पनि एउटा ऐतिहासिक भूमिकामा अभिनय गर्ने रहर थियो । हुन त मैले जीवनमा मैले कहिल्यै मलाई यो रोल चाहियो भनेको छैन । वसन्तीबारे पहिल्यै थाहा पाएको भएर नीर दाइसँग चाहिँ भन्थेँ होला सायद । इतिहासमा पढेका जंगबहादुरको रोल गर्ने इच्छ साह्रै थियो मलाई । अब सबै टिम छानिसकेपछि यो कुरा भन्नु ठीक लागेन, चुप लागेर बसेँ ।
छायांकन सुरु हुुनुअगाडि उहाँले गिनेचुनेका व्यक्तिलाई बोलाएर भोज दिनुभयो । म पनि जापानबाट आएका एक भाइलाई साथै लिएर त्यहाँ पुगेको थिएँ । ती भाइको नाम ‘नीरज पुन’ हो । उनले आफूलाई पनि चलचित्रमा रुचि रहेको अनि चलचित्र क्षेत्रका मानिससँग भेट्न मन लागेको बताएका थिए । मैले नीर दाइसँग उनलाई चिनाइदिएँ । उनले आफ्नो पनि अभिनयमा रुचि रहेको, फिट हुने केही रोल पाए खेलाइदिन आग्रह गरे । नीर दाइले भोलिपल्ट अफिस आएर भेट्न भन्नुभयो ।
भोलिपल्ट बेफुर्सदीका कारण नीरजलाई फोन गर्न भ्याएको थिइनँ, उनले पनि गरेनन् । २० दिनसम्म हाम्रो कुनै सम्पर्क भएन । त्यसपछि मैले आफैँ नीरजलाई फोन गरेँ । त्योबेला उनले भने– ‘अहिले म वसन्तीको सुटिङमा छु, जंगबहादुरको रोल गरिरहेको छु ।’ म त तीन छक्क परेँ । उनको त्यो जवाफले मभित्रको जंगबहादुर बन्ने लोभ जुरुक्क उठ्यो, तर ढिलो भइसकेको थियो । थकथक लाग्यो– बेलैमा आफ्नो इच्छा नीर दाइसमक्ष पोखेको भए जंगबहादुर बन्न पाउने रहेछु कि †
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया