“कार्कीलाई अख्तियारप्रमुख बनाउन केही बाधा हुन्न”

Lokmanshin-Karkiकाठमाडौं, १० वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन कुनै बाधा नहुने बताएका छन् । सर्वोच्च अदालतलाई सोमबार लिखित जवाफ पठाउँदै उनले प्रमुख दलहरूको संयन्त्रमा भएका राजनीतिक छलफल अदालतको क्षेत्राधिकारभित्र नपर्ने जिकिर गरेका छन् ।

प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउन सिफारिस गरेपछि अधिवक्ता ओमप्रकाश अर्यालले त्यसविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए ।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले राजनीतिक दलको सहमति तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चले रिटमा दाहालसहित विपक्षी बनाइएका सबैसँग कार्कीलाई प्रमुख आयुक्त बनाउनुको कारण माग गरेको थियो ।
लिखित जवाफमा अध्यक्ष दाहालले पूर्वसरकार र राजनीतिक दलहरूले कुनै कारबाही नगरी सम्मानपूर्वक राज्यकोषबाट सुविधा दिइरहेका र जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभइरहेको अवस्थामा कार्कीलाई दोषी देख्न नमिल्ने तर्क गरेका छन् । राजनीतिक दलको संयन्त्रमा राजनीतिक कुरा हुने र त्यो अदालतको क्षेत्राधिकारभित्र नपर्ने उल्लेख गर्दै दाहालले कार्कीसँग सहकार्य गर्न कुनै कठिनाइ नहुने जिकिर गरेका छन् ।
विगतमा आफ्नो टाउको काटेर ल्याउन आदेश दिनेहरूसित सहकार्य भइरहेको अवस्थामा कार्कीसँग सहकार्य गर्न कुनै गाह्रो नहुने दाहालले लिखित जवाफमा उल्लेख गरेका छन् । ‘युद्धताका हाम्रो टाउको काटेर झोलामा ल्याऊ र उही झोलामा पैसा भरेर लैजाऊ भनी सार्जजनिक कोटेसन गर्नेसँग त राजनीतिक सहयात्रा गरिरहेका छाँै भने कार्कीसँग किन नहुने ?’ दाहालको जवाफमा उल्लेख छ ।
सोमबार दिउँसो दाहालका वारेस अधिवक्ता मुकुन्द न्यौपानेले सर्वोच्चमा लिखित जवाफ दर्ता गराएका थिए । जवाफमा संवैधानिक परिषद्ले यसमा विचार गर्ने भन्दै पूर्वअनुमान, शंका र समाचारका आधारमा दायर गरिएको रिट खारेज गर्न मागसमेत गरिएको छ ।

प्रतिक्रिया