स्ववियु चुनावको चहलपहल सुरु

काठमाडौं, ७ वैशाख । विद्यार्थी संगठनहरूबीच स्वतन्त्र विद्यार्थी युनियन चुनावको सरगर्मी बढेको छ । चुनाव आºनो पक्षमा पार्न विद्यार्थी संगठन रणनीति बनाउन व्यस्त हुन थालेका छन् ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मिति तोकेसँगै विद्यार्थी संगठनले पनि चुनावी प्रचार–प्रसार तीव्र पारेका छन् । चार वर्षपछि स्ववियु चुनाव हुन थालेको हो । त्रिविले आगामी १३ जेठमा स्ववियु चुनावको मिति तोकेको छ ।
अहिले विद्यार्थी संगठन नारा बनाउने र चुनावमा आºनो वर्चस्व कसरी स्थापित गराउने भन्ने रणनीति बनाउमा लागेका छन् । आ–आºना नारसहित उनीहरूले क्याम्पसका भित्ता रंग्याउन सुरु गरेका छन् ।
विद्यार्थी संगठनबीच निर्वाचन प्रणालीबारे विवाद हुँदा यसअघि चुनाव हुन सकेको थिएन । पछिल्लोपटक सबै संगठन मिश्रित प्रणालीमा सहमत भएपछि त्रिविले चुनावको घोषणा गरेको हो । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु(क्रान्तिकारी) चुनावको आन्तरिक रणनीतिको गृहकार्य गरिरहेका छन् ।
अनेरास्ववियुले सबै क्याम्पसमा भेला गर्न थालेको छ भने त्रिविको कीर्तिपुरमा सम्पर्क कार्यालय नै खोलिसकेको छ । चुनाव आºनो पोल्टामा पार्न अखिलले नियमित बैठक डाकी रणनीति बनाइरहेको छ ।
अखिलका अध्यक्ष माधव ढुंगेलले जिल्ला तहमा चुनावमा लाग्न निर्देशन भइसकेको र नियमित बैठक भइरहेको बताए । विगतको वर्चस्वलाई कायम राख्न अहिले घोषणापत्र लेख्ने तयारी भइरहेको उनले बताए । शैक्षिक र राजनीतिक मुद्दालाई उसले प्राथमिकता दिएको छ । ‘अहिलेको चुनावमा हामीले गुणस्तरीय, प्राविधिक र अनुसन्धानमूलक शिक्षालाई जोड दिएका छौँ, शिक्षामा भएका विकृति र विसंगतिविरुद्ध पनि हामी उभिन्छौँ,’ ढुंगेलले सौर्यसँग भने ।
नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले प्रचार–प्रसारको कार्य तीव्र पारिएको बताए । ‘अहिले वाल पेन्टिङ गर्ने कार्य भइरहेको छ । चाँडै घोषणापत्र जारी गर्ने तयारीमा छाँै,’ उनले भने । शैक्षिकसँगै राजनीतिक मुद्दा आºनो संगठनले उठाएको उनले बताए । ‘सर्वसुलभ र व्यावहारिक शिक्षा हाम्रो प्रमुख एजेन्डा हुन्छ,’ उनले भने, ‘शिक्षासँगै अहिलेको राष्ट्रियता र गणतन्त्रलाई संस्थागत गर्नेतर्फ पनि हामीले पहल गर्ने हो ।’
नेकपा–माओवादीको भ्रातृसंगठन अनेरास्ववियु(क्रान्तिकारी)ले पनि आगामी निर्वाचनलाई ध्यानमा राखेर दुई दिनको राष्ट्रिय भेला गरेको छ । प्रचार–प्रसारको काम चाँडै सुरु गर्ने उसले बताएको छ । स्ववियु निर्वाचनमा शैक्षिकभन्दा राजनीतिक मुद्दा उठाएर क्रान्तिकारी यसपटक चुनावी मैदानमा उत्रिने भएको छ । अध्यक्ष शरद रसाइलीले आफूहरूले शैक्षिकभन्दा राष्ट्रियता र राजनीतिक मुद्दालाई प्राथमिकता दिने बताए । ‘मुलुकको शिक्षा प्रणाली सुधार गर्दै हामीले राष्ट्रियतासँग जोडिएका मुद्दालाई बढी प्राथमिकता दिनेछौँ,’ रसाइलीले भने, ‘देशको अस्तित्व समाप्त भइरहेको अवस्थामा यसलाई बचाउनुका साथै वैदशिक हस्तक्षेपको विरोध चुनावको मुख्य एजेन्डा हुनेछ ।’
एमाओवादीनिकट अनेरास्ववियु(क्रान्तिकारी)ले चुनावी रणनीति तयार गर्न शुक्रबारदेखि ३ दिन केन्द्रीय कमिटी बैठक बोलाएको छ । ‘अनुसन्धानमूलक शिक्षाको उत्पादन, अखिल क्रान्तिकारीलाई मतदान’ भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिने तयारी रहेको उसले जनाएको छ । क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले चुनावी रणनीति तयार गर्न केन्द्रीय कमिटीको बैठक भइरहेको बताए । शैक्षिक एजेन्डालाई प्राथमिकता दिएर निर्वाचनमा होमिने उनले बताए । ‘हाम्रा धेरै माग अघिल्लो स्ववियुले गरिसकेको छ,’ उनले सौर्यसँग भने, ‘अब बाँकी रहेका शैक्षिक मुद्दालाई चुनावबाट हल गर्छौं ।’ जारी बैठकबाटै उसले त्रिविको स्ववियु सभापतिको उम्मेदवार पनि घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया