रेलयात्रा हो साहित्य

Indrabahadur-Raiप्रशस्त लामो समय बाँचियो । हिजोको भूतकाल बाँचियो, आजको वर्तमान पनि बाँचिँदै छ । आफ्नै नीवनकालमा अनुभूत लेखन परिवर्तन आज कहन्छु । अघि हामी लेखनाथलाई देख्न पाउँथ्यौँ, हाम्रै समयमा थिए सम र देवकोटा, सिद्धिचरण थिए । फेरि भवानी भिक्षु र गोविन्द गोठाले पायौँ ।
यता भारतमा धरणीधर शर्मा, सूर्यविक्रम ज्ञवाली, पासमणि प्रधानसँग बाँच्यौँ हामी । तुरुन्तै पाएका थियौँ रूपनारायण सिंह र शिवकुमार राई । उनीहरूकै तत्कालीन लेखक एकनिष्ठ अध्ययन गथ्र्यौंँ, अनुकरण गर्न चाहन्थ्यौँ । हामी, अर्का शब्दमा, नेपाली साहित्यमै सीमित थियौँ । अनि निश्चित थियौँ ।
यो निश्चिन्तता तर धेरै दिन रहेन । नेपाली साहित्यघरका झ्याल र ढोका चाँडै खुले सब दिशाका विविध ज्ञान र प्रश्नलाई । लेखनका एकपछि अर्को नयाँ पाटा पाइए, लेखिए । लैनसिंह बाङ्देलले यर्थाथवादी लेखन ल्याइदिए, रूपनारायण सिंहले स्वच्छन्दतावाद, बिपी कोइरालाले फ्रायडवाद, डिपी अधिकारीले माक्र्सवाद, पारिजातले विसंगतिवाद, अन्यश्च ।
केहिपछि फेरि लाग्न सक्छ : यी तयार बनेका विभिन्न वादवादी सडकहरूले पहिल्यै तोकिएको स्थान (निष्कर्म) मा पुर्‍याउन र पहिल्यै चुनिएका दृश्य देखाउन मात्र सक्दा रहेछन् । आफूले भोगेको विशेष अनुभवलाई बुझ्न, आफूले खोजेको विशेष ज्ञान पाउन सकिँदैन रहेछ, ती अर्कै लक्ष्यलाई बनेका वादहरूबाट । अनिश्चितता पस्छ । र, अब लाग्छ : पथ आफ्नै खोज्नुपर्नेछ । कार्य यो सहज छैन तर सम्भव छ । आफ्नो–आफ्नो पथ खोजिन्छ, पाइन्छ । खोज मिल्नेहरूको साझा नयाँ मार्ग बन्छ ।
पुग्दासम्मको मात्र आफैँले नवनिर्मित सडक हुँदैन । गन्तव्यमा पुग्नलाई तपाईं घरको दैलोदेखि हिँडेरै निस्कनुहुन्छ, ठीक सडक पुगेर केही दूरत्व बस चढेर जानुहोला, उत्रेर रेल समात्नुहुन्छ, यसरी सुरु–माझ, माझ–अन्त्यमा आफैँ हिँड्दै (अर्थात् आफ्नै विचार गर्दै) गन्तव्यमा पुग्नुहुन्छ । सन्धानित वैचारिक लक्ष्य (गन्तव्य) मा त्यसरी पुगिन्छ, कति दूरत्व बनेका वादहरूलाई मिलाएर चढेर तर निर्णायक आफ्नै विचार गर्दै । सब वाद त्यसरी बनेका हुन्, त्यसरी नववाद बन्छन् ।
लेखनमार्गको एकमात्र रोडम्याप यही हो भनिएको होइन । बीचतिरको कुनै बिन्दु पनि, सन्तोषको मान्नुभए, बेस लेखनलक्ष्य हुन्छ पारम्परिक ढाँचाको । कुरा चयनको हो । उता नेपाली नवलेखनका अभियान पनि स्वागत्य बन्दै हुन्छन् ।

प्रतिक्रिया