अव्यवस्थित बन्दै सिन्धुली बजार

सिन्धुली, ६ वैशाख । सिन्धुलीको मुख्य बजार सिन्धुलीमाढी प्रतिदिन अव्यवस्थित बन्दै गएको छ । विगत पाँच वर्षदेखि सिन्धुलीमा निर्माणको तीव्र प्रतिस्पर्धासँगै अव्यवस्थित बजारीकरण सुरु भएको हो ।

तराई आन्दोलनको प्रभावसँगै तराईमा रहेका पहाडी मुलका मानिसहरू सिन्धुली फर्कने र बिपी राजमार्गको निर्माणसँगै जिल्लामा बसाइँ सरी आउनेहरू संख्या प्रतिदिन बढेका कारणले जिल्लामा घरहरू बनाउने, घडेरी किन्नेहरू बढ्दै गएका छन् । यहाँको बसाई तथा सहरीकरण अव्यवस्थित बन्दै गएको छ । जता मन लाग्यो त्यतै घर बनाउने गर्दा विशेष गरी जिल्लाका माढीबजार, मधुटार, धुरा बजार, फाँट, रातामाटा, माझीटार, पानीट्यांकी, प्लानिङ, ढुंग्रेवासलगायतका ठाउँहरूमा अव्यवस्थित बनिरहेको स्थानीयले नै बताएका छन् ।
पाँच वर्ष अघिसम्म काठका साना भिंगटीले छाएका घरहरू मात्र पाइने सिन्धुलीमा यतिबेला सिमेन्टका आधुनिक घरहरू मात्रै भेटिन्छन् । तीव्र घर बनाउने कामले सिन्धुलीका सडकमा निर्माण सामग्रीहरू राख्ने, जथाभावी फोहरमैला फाल्ने गरेकाले दुर्गन्ध, धुलो धुवाँको शहरका रूपमा परिणत हँुदै गएको पनि उनिहरूको भनाइ छ ।
कमलामाई नगरपालिका भित्र रहेको सिन्धुली सदरमुकाम अव्यवस्थित हुँदै गए पनि नगरपालिका कार्यालयले त्यसलाई व्यवस्थित गर्न कुनै काम गरेको छैन । फोहरमैला व्यवस्थापनको लागि सातामा एक दिन एउटा बजार एरियामा गाडी पुर्‍याउने र केही ठाउँमा कन्टेनर राख्ने काम गरेको भए पनि सडक खाली गर्न, बजार एरियाका साँघुरा सडकलाई फराकिलो बनाउन र व्यवस्थित सहरीकरणको मापदण्डमा बजार व्यवस्थित गर्न नगरपालिकाले कुनै पहल नगरेको स्थानीय बासीहरूको गुनासो छ ।
नगरबासीहरूमा पनि फोहर व्यवस्थित गराउन चेतनाको कमि भएको कारणले पनि समस्या हुने गरेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मिनबहादुर श्रेष्ठले बताए । उनका अनुसार स्थानीयवासीले फोहर कन्टेनरमा नहाली सडक वरपर थुपार्ने गर्नाले सिन्धुलीमा फोहरमैला निकै बढेको छ । त्यसैगरी सिन्धुलीमाढी बजारका बासिन्दाले घरभित्र र अगाडिको फोहोर घरपछाडि रहेको ग्वाङखोलामा लगेर फाल्ने गर्नाले खोलाको पानी प्रदूशित बन्दै गएको छ । ३/४ वर्षदेखि उक्त खोलाको पानीमा बाग्मती जत्तिकै फोहर देख्न सकिने स्थानीयबासी निरु श्रेष्ठले बताइन् ।
कमलामाई नगरपालिकाका कार्यकारी प्रमुख युवराज आचार्यले सहर व्यवस्थित गर्न नगरपालिकाको एक्लो प्रयासले मात्र नसकिने हुँदा स्थानीय राजनीतिक दल, वुद्धिजीवी, स्थानीयवासी, उद्योग वाणिज्य संघलगायतले सहयोग गरी योजना बनाएर गएमा सम्भव हुने बताए । उनले फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले काम गरिरहेको र निर्माण सामग्री हटाउनका लागि घरदैलो कार्यक्रमसमेत गरिरहेकाले केही व्यवस्थित हुन थालेको दाबी समेत गरे ।

प्रतिक्रिया