तीस हजार पर्यटकद्वारा घोडेपानीको भ्रमण

म्याग्दी, ६ वैशाख । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत म्याग्दीको घार गाविसमा पर्ने घोडेपानी क्षेत्रमा चैत मसान्तसम्ममा करिब ३० हजार पर्यटकले भ्रमण गरेका छन् । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मानिने घाडेपानीबाट एक दर्जनभन्दा बढी हिमश्रृंखला र पुनहिलबाट बिहानी प्रहरमा सूर्योदयको दृश्य अवलोकन गर्न सकिने भएकाले यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको हो ।

०६८ मा २३ हजार ७ सय ५६ जना पर्यटकले भ्रमण गरेकामा ०६९ सालको चैत मसान्तसम्म २९ हजार ५ सय ४० पर्यटक घोडेपानी भित्रिएको इलाका प्रहरी कार्यालय घोडेपानीले जनाएको छ । देशमा पर्यटनमैत्री वातावरण, पर्यटकका लागि घोडेपानीमा विभिन्न किसिमका कार्यक्रम र सुविधा थप गर्नु जस्ता कारण एक वर्षको अवधिमा थप ५ हजार १ सय ७४ पर्यटक भित्रिएको इलाका प्रहरी कार्यालयका प्रमुख धनबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार ०६९ सालको वैशाखमा ३ हजार ३ सय , जेठमा ७ सय ६७, असारमा ५ सय ८६, साउनमा ६ सय ८, भदौमा ९ सय ४०, असोजमा तीन हजार ६ सय ६६, कात्तिकमा ६ हजार १ सय ५४ र मंसिरमा तीन हजार ८ सय १८ पर्यटकले भ्रमण गरेका थिए ।
त्यस्तै, पुसमा दुई हजार २ सय, माघमा एक हजार २ सय ६, फागुनमा एक हजार ९ सय ६ र चैत महिनामा चार हजार १ सय ८६ पर्यटकले घोडेपानी क्षेत्रमा भ्रमण गरेका छन् । अघिल्लो वर्षमा जेठ र असार महिनामा शून्य पर्यटक आउने घोडेपानीमा यस वर्ष भने उत्साहजनक रूपमा पर्यटक भित्रिएको होटेल व्यवसायीले बताएका छन् ।
जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदलदूरीमा पर्ने घोडेपानीमा पर्यटकलाई लक्षित गरेर २० भन्दा बढी सुविधा सम्पन्न होटेल खोलिएका छन् । ती होटेलमा एकैरात ५ सय पर्यटक बास बस्न सक्ने क्षमता छ ।
एक वर्षमा अवधिमा घोडेपानीमा होटेल व्यवसायीले निजी लगानीमा तीन वटा स्वागत द्वार, सरसफाइ अभियान र पुनहिल प्रवेशका लागि विदेशी पर्यटकबाट शुल्क लिनेजस्ता नयाँ कार्यक्रमले सकारात्मक प्रभाव पारेको होटल व्यवसायी संघ घोरेपानीका अध्यक्ष डमबहादुर पुनले बताए ।

प्रतिक्रिया