चमेलिया आयोजनामा लम्बेतान

काठमाडौं, ६ वैशाख । चमेलिया जलविद्युत् आयोजना निर्माणमा फेरि ढिलाइ हुने भएको छ । ०६३ सालमा सुरु भई ०६८ वैशाखमा सम्पन्न गर्नुपर्ने भए पनि आयोजनाको अवधि थपेर ०७० साउन पुर्‍याइएको थियो । साउनसम्ममा पनि आयोजना पूरा नहुने भएपछि दोस्रोपटक एक वर्ष थप्ने निश्चित भएको छ ।

आयोजना प्रमुख राजेन्द्र मानन्धरले सन् २०१३ अगस्टभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सुरुङ साँघुरिने, पेनस्टकको समस्यालगायत रहेको जानकारी दिएका छन् । आयोजना निर्माण ढिलाइ हुनुमा सुरुङ साँघुरिने मात्र समस्या नभएको विद्युत् प्राधिकरणका एक अधिकारी बताउँछन् । ती अधिकारीका अनुसार प्राधिकरण सञ्चालक समितिले तत्काल निर्णय नगर्नुका साथै परामर्शदाताको निर्देशन ठेकेदार कम्पनीले नटेर्ने, ठेकेदार कम्पनीले आर्थिक समस्या देखाउँदै काम नगर्ने, बढी भेरियसन दाबी गर्नेलगायत समस्या पनि ढिलाइको कारण बनेको छ ।
‘आयोजना समयमा पूरा नहुनुमा ठेकेदार कम्पनीको पनि बदमासी छ, उसका उपकरण पुराना छन् भने जनशक्ति पनि कम छ,’ उनी भन्छन्, ‘प्राधिकरणले चमेलियामा रहेको सुरुङ साँघुरिने समस्याको निर्णय गर्न सात महिना लगाइदियो ।’
प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डे भने समस्या थपिँदै गएकाले आयोजना निर्माणमा ढिलाइ भएको बताउँछन् ।
प्राधिकरण स्रोतका अनुसार आयोजना निर्माणमा ढिलाइसँगै सुरुको लागत ९.९९ करोड डलर रहेकोमा झन्डै चार अर्ब १७ करोड रुपियाँ बढेको छ । ३० मेगावाट क्षमताको चमेलियाको लागत बढ्नुमा सुरुङ साँघुरिने समस्या मुख्य रहेको मानन्धरले बताए ।
प्राधिकरणले कोरिया सरकारको सहयोगमा निर्माण गरिरहेको आयोजनाको शाह सिल्ट आइकन जेभी परामर्शदाता छ भने चाइनिज गेजुवा वाटर एन्ड पावर कम्पनीले मुख्य सिभिलको काम गरिरहेको छ । ठेकेदार कम्पनी सिजिजिसीसँग दुई अर्ब ८८ करोड १३ लाखमा ठेक्का सम्झौता भए पनि बढेर पाँच अर्ब ३८ करोड ६२ लाख रुपियाँ पुगेको र अझै बढ्ने अवस्थामा रहेको प्राधिकरण स्रोतले जनाएको छ । अहिलेसम्म सिभिलको काम ८५ प्रतिशत मात्र सकिएको छ ।
सुरुङको पाँच सय ५० मिटर क्षेत्र साँघुरिँदै गएपछि आयोजना निर्माणमा ढिलाई हुँदा फेरि म्याद लम्बिने भएको हो । गत साउनमा विशेषज्ञ डा. मनोज बर्मन नेतृत्वको टोलीले सुरुङमा पुगेर समस्या पहिचान गरेको थियो । प्राधिकरणका अनुसार सुरुङको साँघुरिने क्रम १.६ मिटरसम्म पुगेको छ । उक्त प्रतिवेदन साउनमै बुझाए पनि त्यसबारे निर्णय हुन भने झन्डै सात महिना लागेको र फेरि टोली पठाउन लागिएको प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न भएको सुरुङको ढलान गरी फिनिसिङ गर्ने क्रममा खुम्चिएको पत्ता लागेको थियो । सात किलोमिटर लामो सुरुङको अघिल्लो वर्षको वैशाख अन्तिम साता ब्रेक थ्रु भएको थियो । दार्चुलाको शिखर ४ मा बन्न लागेको चमेलिया आयोजना राजधानी काठमाडौबाट ९ सय ५० किलोमिटरको दूरीमा पर्छ ।
यसैबीच चमेलिया जलविद्युत् आयोजनाको समस्याबारे अध्ययन गर्न ऊर्जासचिव हरिराम कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ । उमाकान्त झा ऊर्जामन्त्री भएपछि पहिलोपटक उनको अध्यक्षतामा हालै बसेको विद्युत् प्राधिकरणको बैठकले आयोजनाको समस्याका सन्दर्भमा कोइरालाको संयोजकत्वमा समिति गठनको निर्णय गरेको हो । समितिमा प्राधिकरणका कार्यकारी निर्देशक, प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय विवेक तातेड र मनोज मिश्र सदस्य छन् ।

प्रतिक्रिया