घुम्टेलाई राष्ट्रिय फूलको पहाड घोषणा गरिने

Ghumteबाग्लुङ, ५ वैशाख । बाग्लुङको पर्यटकीय क्षेत्र घुम्टेलाई राष्ट्रिय फूलको पहाड घोषणा गर्न पहल गरिने भएको छ । नयाँ वर्ष ०७० को अवसरमा गलकोट घुम्टे पर्यटन विकास केन्द्रले समुद्री सतहदेखि १० हजार तीन सय ९४ फिटको उचाइमा रहेको घुम्टेको धुरीमा आयोजना गरेको मैत्रीपूर्ण पर्यटन भेलाबाट घुम्टेलाई राष्ट्रिय फूल लालीगुराँसको पहाड घोषणा गर्नेलगायतका १० बँुदे घोषणा पत्र जारी गरेको हो ।

भेलाबाट घुम्टेलाई हरेक वर्षको चैत वैशाखमा गुराँस दिवस मनाउन पहल गर्ने, घुम्टेको पर्यटन विकासका लागि गुरु योजना तयार पार्ने, पदमार्गको काम तत्काल सक्ने, प्रचार–प्रसारका लागि बेब साइट सञ्चालन गर्ने, घुम्टेमा रहेको ऐतिहासिक स्थल गोरठरीको पर्यटकीय विकास गर्ने लगायतका निर्णय गरिएको केन्द्रका अध्यक्ष भंmकबहादुर बस्नेतले बताए । ‘घुम्टेको पर्यटन प्रर्बद्धनमा टेवा पुर्‍याउन बृहत् छलफल गरी आवश्यक योजनासमेत बनाउन ठोस पहल गर्ने उद्देश्यले भेला आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
घुम्टे बाग्लुङ जिल्लाकै अग्लो पहाड हो । सो स्थानमा हरेक वर्ष बुद्ध पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । धुरीमै रहेका सिद्ध र भैरवको मन्दिरमा विशेष पूजाआजा गर्ने प्रचलन छ । त्यहाँ पूजाआजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । घुम्टे धार्मिक, प्राकृतिक, जैविक हिसाबले पनि महत्त्वपूर्ण क्षेत्र हो । सयौँ किसिमका बहुमूल्य जडीबुटी पाइने सो स्थान वन्यजन्तुको उपयुक्त बासस्थान पनि हो ।
सो स्थानबाट दर्जनौँ हिम शृंखलालगायतका नेपालका विभिन्न भू–भागको अवलोकन गर्न सकिन्छ । पदमार्ग निर्माण भएपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्ने पर्यटन केन्द्रको विश्वास छ ।

प्रतिक्रिया