लभस्टोरी चलचित्रमा निर्भीक

Nirbikकाठमाडौं : अभिनेता निर्भीक राई सिमाला चलचित्रबाट अभिनयमा प्रवेश गरेका हुन् । पहिलो चलचित्रमै राम्रो सम्भावना देखाएका राई यसको लगतै ‘जसलाई म हृदयदेखि प्रेम गर्छु उसैलाई अजम्बरी माया गर्छु’ चलचित्र अनुबन्धित भए ।
त्यसो त उनलाई अन्य केही चलचित्रका अफर नआएका भने होइनन् । कोहीमा कथा र कोहीमा भूमिका चित्त नबुझेका कारणले केही चलचित्र छाडेको उनले बताए ।
यो चलचित्र वेदप्रसाद भुर्तेलको निर्देशनमा बन्न लागेको हो । ‘सिमालाकै अभिनय राम्रो लागेर राईलाई आफ्नो चलचित्रमा लिएको हुँ,’ भुर्तेलले भने, ‘पछिल्लो समय देखिएका नयाँ कलाकारमध्ये राईको सम्भावना मैले देखेको छु ।’
प्रेमका विषयमा चलचित्र निर्माण गर्न लागेका भुर्तेलले राईलाई यसमा प्रेमीकै रूपमा उतार्दै छन् । लभस्टोरी चलचित्रमा राईले राम्रो अभिनय गर्न सक्ने देखेर आफूले चलचित्रमा लिन लागेको भुर्तेलले खुलाए । चलचित्रमा राईका साथमा विक्रम राई र गोपाल सिटौला आदिले मुख्य भूमिका निर्वाह गर्दै छन् । (सौस)

प्रतिक्रिया