भुंडे प्रहरीको अनुगमन गर्न दौडाहा टोली

काठमाडौं, ४ वैशाख । निर्देशनअनुसार भुँडे प्रहरीले भँुडी घटाएको/नघटाएको अनगमन गर्न प्रहरी प्रधान कार्यलयले दौडाहा टोली नै परिचालन गरेको छ । टोलीले बुधबारदेखि नै देशभरका प्रहरी कार्यालयमा पुगेर भुँडे प्रहरीको अनुगमन गर्नेछ ।

प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारीका अनुसार भुँडी घटाउन दिइएको म्याद सकिएकाले अनुगमन गर्न दौडाहा टोली परिचालन गरिएको हो । प्रधान कार्यालयले भुँडे प्रहरीलाई भुँडी घटाउन तीन महिनाको म्याद दिएको थियो । ‘भुँडी घटाउन दिइएको म्याद सकिएको छ । त्यसको अनुगमन गर्न दौडाहा टोली परिचान गरिएको हो,’ प्रवक्ता अधिकारीले भने ।
दौडाहा टोलीमा एसएसपीहरू सुरेश केसी, रमेश पाण्डे र घनानन्द भट्टराई रहेका छन् । प्रधान कार्यालयले दिएको तीनमहिने म्याद भित्र पनि भुँडी नघटाई बसेका प्रहरीलाई टोलीले कारबाहीका लागि सिफारिस गर्नेछ । डिआइजी अधिकारीका अनुसार भुँडी नघटाई बसेका प्रहरीलाई तत्काल रिफ्रेसमेन्ट तालिम दिइने छ । ‘प्रधान कार्यालयको निर्देशनअनुसार भुँडी नघटाएका प्रहरीलाई तत्काल तालिममा हालिनेछ । यसले रिफ्रेसमेन्ट गर्नेछ,’ उनले भने ।
प्रहरीका अनुसार भुँडे प्रहरीको संख्या तल्लो तहमा धेरै छ । विशेषगरी असई र सई तहमा भुँडे प्रहरी धेरै छन् । हवल्दार तहका प्रहरी पनि भुँडे रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीमा मुलुकभर सईको संख्या तीन हजार एक सय ९५ छ । असईको संख्या पाँच हजार नौ सय २९ छ । त्यस्तै, ११ हजार दुई सय ७६ प्रहरी हवल्दार छन् । विशेषगरी फिल्डमा खटिने प्रहरी उनीहरू नै हुन् ।
‘जो फिल्डमा खटिन्छन्, उनीहरू नै भुँडे भएपछि कसरी अपराधीलाई समात्न सक्छन् ? अर्को कुरा भुँडे प्रहरी आफैँमा रोगी पनि हुन्छन् । प्रहरी भनेको स्वस्थ र तन्दुरुस्त हुनुपर्छ नि । प्रहरी आफैँ रोगी भए शान्ति सुरक्षा कसरी राम्रो हुन्छ ? यही भएर हामीले यो अभियान सुरु गरेका हौँ,’ प्रहरी प्रवक्ता अधिकारीले भने ।
प्रवक्ता अधिकारीका अनुसार दौडाहा टोली प्रहरीको आचरण सुधारमा पनि केन्द्रित हुनेछ । ‘प्रहरीको आचरणका विषयमा नेतृत्व सचेत छ । आचरणका विषयमा उठेका विवाद कुनै हालतमा पनि क्षम्य हुँदैन । यसलाई शून्यमा झार्न पनि दौडाहा टोली परिचालन गरिएको हो,’ प्रवक्ता अधिकारीले भने ।
केही महिनाअघि पनि प्रधान कार्यालयले तीन वरिष्ठ प्रहरी उपरीक्षकको सहभागिता दौडाहा टोली परिचालन गरेको थियो । टोलीमा एसएसपीहरू रमेश खरेल, सर्वेन्द्र खनाल र ज्ञानोदराज वैद्य सहभागी थिए । उनीहरूले मुलुकभरका ५४ प्रहरीलाई कारबाही गर्नुपर्ने भन्दै प्रधान कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनअनुसार प्रधान कार्यालयले एक जना सई, ८ जना असई, २३ हवल्दार र २२ जवानलाई कारबाही गरिसकेको छ ।

प्रतिक्रिया