सरोज र लीला आज थाइल्यान्ड जाने

juso-team-photoकाठमाडौ, २ वैशाख । एसियाली सिनियर जुडो प्रतियोगितामा सहभागिता जनाउन चारसदस्य नेपाली टोली सोमबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।

थाइल्यान्डको बैंककमा १९ देखि २१ अप्रिलसम्म हुने एसियाली सिनियर जुडो प्रतियोगिताको पुरुष ६० केजीमा काठमाडांैका सरोज महर्जन र महिला —४८ केजी तौल समूहमा नेपाल आर्मीका लीला अधिकारीले प्रतिस्पर्धा गर्दै छन् । त्यसैगरी व्यवस्थापकतर्फ राजन कर्माचार्य तथा प्रशिक्षकमा गंगाबहादुर डंगोल रहेका छन् । टोली सोमबार थाइल्यान्डतर्फ प्रस्थान गर्नेछ । सरोज महर्जन पछिल्लो दक्षिण एसियाली च्याम्पियनसीपको व्यक्तिगत र टिम स्पर्धाका स्वर्ण पदक विजेता हुन् । यसैगरी, लीला एसियन जुनियर च्याम्पियनसीपकी पदक विजेता खेलाडी हुन् ।
त्यसैगरी, १७ अप्रिलान हुने जुडो युनियन अफ एसियाको कार्यसमितिको बैठकमा नेपाल जुडो संघका अध्यक्ष एवं जुडो युनियन अफ एसियाका उपाध्यक्ष दीपकहर्ष वज्राचार्य उपस्थित नहुने भएका छन् । दीपकको अनुपस्थितिमा नेपाली टोलीको प्रतिनिधित्व व्यवस्थापक एवं संघका सदस्य राजन कर्माचार्यले गर्नेछन् । राजविराजमा सम्पन्न पाँचौँ लोकन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता तथा काठमाडौंमा सम्पन्न चौथो अम्विका स्मृति खुला तौल जुडो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा भएका यी दुई खेलाडी छनोट गरिएको संघका महासचिव रमेश महर्जनले जानकारी दिए ।
सरोजले प्रतियोगतामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको बताएका छन् । सरोज र लीला दुवै दक्षिण एसियाली च्याम्पियनसीपमा स्वर्ण पदकका दाबेदार मानिन्छन् । बिदाइका अवसरमा नेपाल जुडो सघंका अध्यक्ष दीपकहर्ष वज्रचार्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया