किताबको मूल्य मेरा लागि अमूल्य छ

abम बालखै छँदाको दार्जिलिङमा साहित्यिक अनि दार्शनिक किताब उति धेरै पाइँदैनथे । कमिक्सचाहिँ पाइन्थे, म तिनैमा भुल्थेँ । कमिक्स पढ्दा आनन्द लाग्थ्यो । यो कुरा मेरा सिनियरहरूले थाहा पाएछन् । मलाई सम्झाए– ‘बाबु तिमी कमिक्स नपढ, यसले मनोरञ्जन मात्र दिन्छ, ज्ञान दिँदैन ।’ त्यसपछि मैले बिस्तारै कमिक्स पढ्न कम गरेँ । चटक्कै छाडिदिएँ ।
हाम्रो स्कुलले हस्तलिखित साहित्यिक भित्तेपत्रिका निकाल्थ्यो । सम्पादक मण्डलमा म पनि हुन्थेँ । बेलाबेला गीत, कविता, गजल लेखिटोपल्थेँ । बाल मस्तिष्कमा जे फुथ्र्यो त्यही लेख्थेँ । न प्लट न शीर्षकको ज्ञान । तैपनि, रमाई–रमाई लेखिन्थ्यो । हामी साथीहरू मिलेर मासिक पत्रिका पनि चलाउँथ्यौँ । जिन्दगीमै पहिलोचोटि ‘साथी’ नामक पत्रिकामा मेरो कविता छापिएको थियो । मलाई त स्वर्गै पुगेजस्तो अनुभूति भएको थियो ।
यस्तै सन्दर्भहरू जोडिने क्रममा मभित्र किताबप्रेमको टुसो पलाउन थाल्यो । म्याट्रिक्स थर्ड पेपरको कोर्सबुकमा moसाहित्यिक किताब पढ्नुपथ्र्यो, जसमा लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, गुरुप्रसाद मैनालीको ‘नासो’ आदि पर्दथे । हामी ‘मुनामदन’का पंक्ति भाका हालीहाली पढ्थ्यौँ । तिनै कृति पढेर म नेपाली साहित्यतर्फ मोहित हुन थालेँ । विदेशी साहित्यतर्फ पनि क्रमश: आकर्षित हुँदै गए । ‘दियालो’ र ‘गोरखा’ पत्रिका म नियमित पढ्थेँ ।
मैले शंकर लामिछाने, भूपि शेरचन, उत्तम कुँवर आदिलाई काठमाडौं आउनुअगावै भेटिसकेको थिएँ । काठमाडौँ आएपछि उनीहरूसँग सम्बन्ध गाढा भयो । शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज,’ भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, उत्तम कुँवरको साहित्यिक पत्रिका ‘रूपरेखा’, हरिभक्त कटवालको ‘यो जिन्दगी खै के जिन्दगी’ मलाई मनपर्ने किताब हुन् । शंकर लामिछानेले मेरो विषयमा ‘अम्बर एक प्रतिभा’ शीर्षक लेख नै लेखेका थिए । ‘रूपरेखा’मा मेरा पनि धेरै लेख छापिएका थिए ।
crimeमलाई अगमसिंह गिरीको ‘याद’ खण्डकाव्य पनि एकदम मन पर्छ । प्रवासी नेपालीहरूका बारेमा उनले लेखेको ‘नौलाखे तारा उदाए’ शीर्षकको गीत मैले गाएको थिएँ । जुन एकदम चर्चित पनि भएको थियो । इन्द्रबहादुर राईले आयामेली लेखहरू लेखेर छाप्दा म पनि गीतहरू लेख्ने गर्थे र छाप्ने गर्थे । मलाई इन्द्रबहादुर राईले लेखेको ‘सपना कतिपय’ र ‘आज रमिता छ’ शीर्षकको उपन्यास एकदम मन पर्छ । पारिजातको ‘शिरीषको फूल’को सुन्दर वर्णनात्मक शैलीले मलाई साह्रै मन्त्रमुग्ध बनाएको थियो । बिपी कोइराला पनि मलाई मन पर्ने लेखकमै पर्छन् । मलाई उनले लेखेको ‘सुम्निमा’ र ‘दोषी चस्मा’ निकै मन पर्छ ।
माधव घिमिरेको ‘कुञ्जिनी’ र ‘मालती मंगले’को भाव र छन्दले मलाई आकर्षित गर्‍यो, जसमा मैले संगीत पनि भरेको थिए । मलाई उहाँका सिर्जनामा संगीत भर्दा एकदम रमाइलो र सार्थकता महसुस भएको थियो । म बालकृष्ण समको लेखनशैलीबाट पनि प्रभावित छु । उनीद्वारा लिखित कृतिमध्ये मलाई ‘चिसो चुल्हो’ एकदम मन पर्छ । पुष्कर शमशेरको ‘परिबन्ध’ पनि मेरो मन छुने किताब हो । कमलमणि दीक्षितका निबन्ध रुचिकर लाग्छन् ।
मलाई प्रभावित बनाउने विदेशी साहित्यकार धेरै छन्, तिनीहरूमध्ये भारतीय साहित्यकारमा रवीन्द्रनाथ टैगोर पनि एक हुन् । उनले लेखेको विश्वचर्चित ‘गीताञ्जली’ मैले धेरै पटक दोहोर्‍याएर पढेको छु । उनी गीत पनि बडो मज्जाले गाउन सक्थे । उनको सांगीतिक यात्राको सिलसिलालाई रविन्द्र संगीतको नामले पुकारिन्छ । उनी साहित्यकारका साथसाथै कुशल पेन्टर पनि थिए । मलाई मन पर्ने अर्का भारतीय साहित्यकार प्रेमचन्द हुन् । उनको ‘गोदान’ शीर्षकको उपन्यासले मेरो मनमा अद्वितीय छाप छोडेको छ । उर्दु सायर मिर्जा गालिबको सुन्दर लेखनशैलीले मलाई मोहित बनाएको छ । उनको ‘मिर्जा गालिबके गजल’ शीर्षकको गजल संग्रह मैले दोहोर्‍याइ–तेहेर्‍याइ पढेको छु । फैज अहमद, साहिर लुदियानी पनि मलाई मनपर्ने लेखक हुन् ।
समरसेट ममको ‘अफ ह्युमन बोन्डेज’, मार्क टवेनको ‘रेजर्स एज’ किताबले मलाई वैचारिक रूपमा चिन्तनशील बनाए । फ्रान्सेली कथाकार मौपासा, रूसी साहित्यकार एन्टोन चेकभ र माक्सिम गोर्की मेरा प्रिय लेखक हुन् । गोर्कीको ‘आमा’ उपन्यास एकदम मर्मस्पर्शी लाग्छ । यसले छोरालाई देश सुधार्न क्रान्ति गर्न सिकाउने आमाको कलात्मक र शक्तिशाली चित्रण गरेको छ । दोस्तोभस्कीको ‘क्राइम एन्ड पनिस्मेन्ट’ले मेरो बौद्धिक जीवनमा ठूलो हलचल ल्याइदियो ।
सेली, लङफेल्लो, किट्स, इट्स, सेक्सपियर, लोर्ड बाइरन आदि मलाई मन परेका अंग्रेजी लेखकहरू हुन् । सेक्सपियरका नाटकहरूमध्ये ‘द ट्रयाजिडी अफ रोमियो एन्ड जुलियट’ एकदम उत्कृष्ट लाग्छ । प्रेममा समर्पित प्रेमीप्रेमिका एकअर्कामा पागल भएर ज्यानसम्म अर्पण गर्छन् भन्ने आसय कृतिमार्फत प्रकट भएको छ । यी लेखकहरूले आफ्ना कृतिमा वर्णन गरेको विचित्र कल्पनाशक्तियुक्त दृश्य सम्झिएर म आश्चर्यचकित बन्छु ।
म विशेष गरी संगीतकार भएका कारण धेरै संगीतकारबारे पनि पढेको छु । जसमध्ये विथोविन, सुवार्ट, सोपेन, चाइकोस्की, स्टाभिन्सकी, मोजार्ट आदि हुन् । उनीहरूले मेरो सांगीतिक जीवनमा अनन्त प्रेरणा प्रदान गरेका छन् । उनीहरूको सफलताको कथाले मलाई पनि सफल बन्न सहयोग गर्‍यो । मैले पनि यो स्थानमा आइपुग्न एकदम धेरै दु:ख गरेको छु । त्यो दु:खको कथा व्यक्त गर्न मैले ‘कहाँ गए ती दिनहरू’ शीर्षकको किताब लेखे । गीत पनि लेखेँ । ‘अक्षरका आवाजहरू’ शीर्षकको गीतसंग्रह प्रकाशित छ । मलाई आफूले लेखेका गीतमध्ये नारायण गोपालले गाउनुभएको ‘मेरो आँखालाई राख्ने फूलबारी छैन’ एकदम राम्रो लाग्छ ।
मैले धेरै मनोवैज्ञानिक किताब पनि पढेको छु । फ्रायडका किताबहरू उत्कृष्ट लाग्छन् । बायोग्राफ्री पनि भ्याएसम्म पढ्छु । फ्रान्सेली राइटर पियरे लामले लेखेको जीवनी ‘वियोन्ड डिसायर’ले मेरो दिमागलाई अत्यधिक झकझक्यायो । नेल्सन मण्डेला, महात्मा गान्धीको जीवनी पनि मेरा निम्ति प्रेरणादायी छ । ग्रेट स्टेटस्म्यानको ‘डिस्कोभरी अफ इन्डिया’ मलाई निकै मन परेको किताब हो ।
जीवनमा सफल बन्न उत्साह दिइरहने स्वेट मार्डेन, डेल कारनेगीका विचारहरू पढेर मैले आत्मविश्वासी बन्न सिके । जिन्दगीमा निराश भइरहेको बेला उनीहरूको आशा जगाउने विचारले म पनि अवरोधहरूसँग जुध्न सबल बनेँ । मलाई सामाजिक दार्शनिक र तथ्यांकवादी दार्शनिकहरूको दर्शन पनि कमालको लाग्छ । मेरो विचारमा दर्शनले नै जीवनलाई डोहोर्‍याउँछ । ग्रिक दार्शनिकहरू क्रमश: सोक्रेटस, प्लेटो, एरिस्टोटलको कारणले म विशेषत: दर्शन पढ्न लालायित भएको हँु ।
म आध्यात्मिक किताबहरू पनि पढन रुचाउँछु । जसमध्ये भारतीय महर्षिहरू विवेकानन्द, स्वामी प्रभुदानन्द, सिरडी साईबाबा आदि । उनीहरूको आध्यात्मिक विचारले मेरो पनि विचार परिवर्तन गरिदियो । अर्का विचारक ओरोरो विन्दो पनि मेरो लागि प्रिय छन् । मलाई यी किताब पढेर ‘अध्यात्म जीवनको अन्तिम सार रहेछ’ भन्ने महसुस हुन्छ । मलाई लाग्छ– यी विविध विषयका किताबहरूले मेरो सांगीतिक जीवनमा अनन्त ऊर्जा दिलाएका छन् । मेरो जीवनलाई सार्थकतातर्फ अभिप्रेरित गरिरहेका छन् ।
म भेटेसम्म सबै विषयका किताब पढ्न रुचाउँछु । विभिन्न विषयले जिन्दगीमा आफ्नो आ–आफ्नै खाले महत्त्व राख्छन् । युएसबाट फर्किदा मनोवैज्ञानिक र सांगीतिक विषयका किताबहरू किनेर ल्याएको छु । राति जहिल्यै किताब पढेर मात्र सुत्ने बानी छ । नपढ्दा त निन्द्रै लाग्दैन । किताबले मलाई संगीतकार बन्न ठूलो सहयोग गरेको छ । मेरो दिमागलाई व्यापक बनाइदिएको छ । त्यसैले किताबहरू धन्य छन् । मेरो सुख दु:खका प्यारा साथीहरू । यिनीहरूको मूल्य मेरा निम्ति अमूल्य छ ।
प्रस्तुति : बालिका थपलिया

प्रतिक्रिया