सभ्य–मानव समाजमा पुस्तकको ज्यादै सम्मान हुन्छ । पुस्तकलाई सभ्यता, संस्कृति, इतिहास, धर्म, दर्शन, अध्यात्म, ज्ञान विज्ञान … अर्थात् मानव उत्थानसँग सम्बन्धित सम्पूर्ण विषयको संरक्षक र संवाहक मानिन्छ । मानवका मार्गदर्शक र उत्प्रेरक पनि हो– पुस्तक ।
पूर्वीय परम्परामा ‘पुस्तक’ पवित्र मानिन्छ । अर्थात् पुस्तकमा देवताको बास हुन्छ भनिएको छ । हाम्रो सनातन परम्परामा प्रचलित युग अनुसार, सत्ययुगमा– पुस्तकका देवता शिवजी थिए । त्रेतामा सूर्य र द्वापरयुगमा प्रजापति–ब्रह्मा थिए भने यस कलियुगमा चाहिँ स्वयं हरि भगवान्ले पुस्तकमा बास गरेका हुन्छन् ।
यसैकारण शिक्षा–विद्या भनेको ईश्वरीय तत्त्व हो । पढाउने गुरुमा ईश्वरीय शक्ति हुन्छ । गुरुले अरूलाई विद्यादान–शिक्षादान गर्छ । पुस्तक लेख्ने व्यक्तिले स्वेच्छाले लेख्नुपर्छ, यदि, द्रव्य लिएर कसैका बारेमा लेख्छ वा द्रव्य प्राप्तिका आधारमा मात्र गुण दोष देखाएर लेख्छ भने यस्तो लेखकले जति अक्षर लेखेको छ त्यति वर्ष नरक भोग्छ भनेर उल्लेख गरेको पाइन्छ ।
प्राय: प्रारम्भिक समयका पुस्तकका रचनाकारहरू आचार्य–पुरोहित, गुरुवर्ग नै थिए । उनीहरूले नै पुस्तकको सम्मान गर्ने परम्परा पनि बसालेका हुन् । पूर्वीय जगतका ऋषिमुनिहरूले गुरुकुलीय शिक्षा परम्परा चलाउने गर्थे । उहिले कतिपय आचार्य मुनिहरू आफ्नो आश्रममा— दस हजारभन्दा बढी छात्रको आवास, भोजन वस्त्र आदि समेतको व्यवस्था गरिदिएर विद्यादान गर्दथे ।
प्रारम्भमा शिक्षाको प्रचार मौखिक परम्परामा आधारित थियो । पछि क्रमश: लेख्यकलाको विकास भयो । पूर्वीय जगत्मा करिब पाँचहजार वर्षदेखि लिपिको उत्थान भएर भूर्जपत्र, बाँसका खवटा वा यस्तै कतिपय सामग्रीमा लिपि चित्रित गरेर राख्न थालिएको हो । पूर्वीय जगत्मा पहिलोपल्ट पुस्तक लिपिबद्ध गर्ने काम महर्षि व्यासले गरेका थिए–भनेर विभिन्न ग्रन्थमा उल्लेख छ ।
भारत तथा नेपालमा विक्रम संवत् प्रारंभ हुनुअघिदेखि नै पुस्तकको महिमा गाइएको पाइन्छ । बौद्ध र जैनकालमा पनि पुस्तकालयहरू भएको चर्चा भेटिन्छ । पुस्तकहरू संरक्षण गर्न तक्षशीला नालन्दा आदि विश्वविद्यालयहरूमा ठुल्ठूला पुस्तकालय थिए । पाश्चात्य जगत्का असिरियन राज्य प्राचिन इजिप्ट आदिमा इ.पु.पन्ध्र सयतिरै रचिएका ग्रन्थहरू पाइएका छन् ।
यस्तै ग्रिसमा युरिपाइडिस, प्लेटो, अरस्तु आदिले ठुल्ठूला ग्रन्थहरू लेखेका थिए । अरस्तुको पुस्तकालयलाई आधुनिक युगको पहिलो प्रामाणिक पुस्तकालय मानिन्छ । त्यस्तै त्यतिबेलाका जर्मनी, फ्रान्स, बेलायत आदिमा पनि पुस्तकका रचनाकार र पुस्तकको महत्त्व बुझ्नेहरू थिए । इ.सं. कै प्रारम्भतिर राजा फिलाडल्फसले बनाएका पुस्तकालयमा अनुवादकहरू समेत राखेर अन्य भाषाका ग्रन्थहरू अनुवाद गराउने गरेको कुरा पनि उल्लेख पाइन्छ ।
आधुनिक युगको सबैभन्दा ठूलो पुस्तक संग्रहालय सन् १७५३ मा स्थापित ‘व्रिटिस म्युजियम’लाई मानिन्छ । रुसी सेन्टपिटर्स वर्गको पुस्तकालय, फारस पारीस्थित पुस्तकालय, जर्मनीको फ्रेडरिक विलियम पुस्तकालयहरू संसारका ठूला पुस्तकालय मध्ये प्रमुख मानिन्छन् ।
०००
म आफूले पुस्तकलाई कसरी बुझेँ, पढे भन्नुअघि पुस्तक महिमा वर्णन गर्न उपयुक्त लागेर यो प्रसंग उठाएको हुँ । हाम्रो समाजमा पुस्तक पढ्न नसक्ने अक्षर नै नचिनेकाहरूले पनि घरमा पुस्तक राखेर पूजा गर्ने, ढोग्ने गर्दछन् । गीता, रामायण, पुराण आदि ग्रन्थहरू यस्तै पूज्य र प्रणम्य मानिन्छन् ।
मेरा हजुरबा पं.शिवनिधि र पिता पं. टेकनाथ भट्टराईको पाण्डित्य परम्परा र संस्कारभित्र मेरो बाल्य तथा किशोरअवस्था बितेको हो । त्यही परम्पराका आधारमा विसं ०१० को सरस्वती पूजाका दिन वर्णमालालाई फूल अक्षताले पूजा गरेर पाटीमा क, ख लेख्न थालेको आज पनि संझना छ ।
मैले पहिलोपल्ट पढेको पुस्तक ‘सचित्र ठूलो वर्णमाला’ ६ महिनामा नै छिचोलेको थिएँ । त्यतिबेला त्यो पुस्तक नै सबभन्दा महत्त्वपूर्ण लाग्दथ्यो । त्यसपछि ‘सप्तशती चण्डी’ प्राय: सबै मुखस्थ पारेको थिएँ । आज पनि त्यो प्रिय लाग्छ । दस–एघार वर्षमा पढेको ‘अग्निस्थापना’ सबै मुखस्थ थियो । पुस्तक हेरेर पनि शुद्ध पढ्न नसक्ने पुरोहितका अगाडि पुस्तक नहेरी पढ्न सक्ने आफूलाई ठूलै विजेता ठान्दथँे । चौध वर्षकै उमेरमा लघु कौमुदी र अमरकोश मुखाग्र पार्ने मेरो क्षमताले प्रशंसा पाएको हो । मेदिबुङ् (ताप्लेजुङ)मा पढेका बेला अंग्रेजी बुक वान र बुक टु का शब्द कण्ठस्थ सुनाउन पाउँदा आफू ठूलै मान्छे भएको ठान्थेँ । क्रमश: पाठ्यपुस्तक पढेर औपचारिक डिग्रीहरू लिइसकेपछि मात्र थाहा पाउँदै गएँ, ज्ञान प्राप्त गर्ने कुरामा त अझै धेरै पढ्न बाँकी रहेछ भनेर ।
बनारसमा डेढ दशकजति बस्ता नागरी प्रचारिणी पुस्तकालय र कारमाइकल लाइब्रेरीको सदस्य बनेर नियमित पढ्ने काम गरेँ । बीस पच्चिसको उमेरमा विभिन्न खाले कोकशास्त्रको पढाइ गरियो । त्यतिबेला यस्ता पुस्तक नै सबैभन्दा राम्रा लागेर दर्जनौँपल्ट दोहोर्याइयो ।
त्यतिबेला गुलसन नन्द, जेम्सबान्ड, देवकीनन्दन आदिका सबैखाले पुस्तक पढेर त्यसैभित्र रमेको संझना छ । विश्वेश्वरप्रसाद कोइरालाले आफू बनारस बस्न थालेपछि विद्यार्थी र कार्यकर्ताहरूका निम्ति एउटा पुस्तकालय सञ्चालन गर्न लगाउनुभएको थियो । संयोगले त्यसको संयोजकमा म नियुक्त भएँ ।
बिपी कोइरालाले मेरै मातहतमा पुस्तक भेला पार्ने र बिहान बेलुका बसेर संयोजन गर्ने जिम्मा दिनुभएको थियो । उहाँले दिएकै सूची अनुसार पुस्तक जुटाउने गरिन्थ्यो । कहिलेकाँही उहाँसँग भेट गर्न गएको बेला पुस्तक पढे नपढेको जाँच पनि गर्नुहुन्थ्यो बिपीले । सबैका अघिल्तिर ‘तिमीले … पुस्तक पढ्यौ ? त्यसमा के के विषयवस्तु छ ? …’ त्यसकारण पनि पुस्तकहरू पढ्ने बानी बसेको थियो ।
त्यतिबेला (०२८–०३३ को अवधिमा) टल्स्टाय, गोर्की, माक्र्स, टैगोर, शरच्चन्द्र, प्रेमचन्द, बंकिम, डिकेन्स, डि. एचलरेन्स, पर्ल एसवक, समरसेट, शेक्सपियर, फ्रायड, युंग, किड्स, वाइरन, विल्टन, गान्धी, नेहरू, रेणु, भानुभक्त, सम, लेखनाथ, देवकोटा, रिमाल, वाङ्देल, इन्द्रबहादुर राई, कालिदास, भास, कौटिल्य, विभिन्न उपनिषद, वाल्मीकि, व्यास, आदिका कृतिहरू पढियो । विश्व इतिहास, विश्वभूगोल, नेपाली इतिहास, भूगोल आदिसँग संबद्ध पुस्तकहरू पढिए । त्यो अवधि एकप्रकार पुस्तक पढ्ने उर्वराकाल थियो । तर, बुझ्दैजाँदा जति पढे पनि अपुरो र अधुरो लाग्दथ्यो । अनि ‘यस ब्रह्माण्डमा यति धेरै पढ्नुपर्ने विषयहरू छन्, सूर्यको आयु कुनै मनुष्यले पाएर पढ्न थाल्यो भने पनि पूरा गर्न सक्तैन’ भन्ने उक्तिलाई संझेर चित्त बुझाउन थालेको हुँ ।
गोर्कीको ‘आमा’ टाल्स्टायको युद्ध र शान्ति, टैगोरको गोरा, प्रेमचन्द्रको गोदान, पर्लको धरतीमाता, भगवती चरणको चित्रलेखा, जैनेन्द्रको शेष प्रश्न जस्ता केही कृतिहरू दोहोर्याइ तेहर्याइ पढेको थिएँ । यस्ता पुस्तक कसरी लेखिन्छ होला भन्ने कल्पना गरिन्थ्यो । यी सबैभन्दा राम्रा पुस्तक लाग्दथे ।
पिएचडी गर्न थालेपछि— भाषा र समालोचनासँग सम्बद्ध पुस्तक पढ्न थालियो । यस्ता गहन किताब लेखकबाट कसरी तयार हुन्छन् ? भन्दाभन्दै त्यो अवधि पनि सकियो । पुस्तकको राम्ररी चयन र यही पुस्तकचाहिँ सबैभन्दा राम्रो भन्न नपाउँदै यसरी नै समय बित्तै गएको छ ।
यतिबेला, साठी नाघेपछि दर्शन, अध्यात्म, सामाजिक—राजनीतिक रूपान्तरणसँग संबद्ध पुस्तकहरू पढ्न थालेको छु । कथा, उपन्यास र यात्रा–संस्मरणसँग सम्बद्ध कृतिहरू प्राथमिकताका साथ पढ्ने गर्छु ।
बिपी कोइरालाको ‘आत्मवृत्तान्त र जेल जर्नल पठनीय र प्रेरणाप्रद ठानेर धेरैपल्ट पढेको छु । प्राचिन कृतिहरू मध्ये ‘महाभारत’ को पठन कहिल्यै पूरा नहुने रहेछ । यो जतिपढे पनि अनन्त बन्दै जानेरहेछ ।
०६९ फागुन लागेपछि शारदा शर्माको ‘ताप’ तारिणीप्रसाद कोइरालाको ‘तारिणीका कथा’ तेजप्रसादका कथा जगदीश शमशेरको उत्तरआधुनिकतावाद र बाहुल्य बिस्फोट, गोविन्दराज भट्टराईको ‘समयबोध र उत्तरआधुनिकता’ जाँफ्रास्वाँ ह्वेलद्वारा रचित त्जभ :यलप बलम तजभ एजष्यिकयउजभच कृति पढ्दै छु ।
वास्तवमा प्रत्येक व्यक्ति पाठकको पढ्ने सामग्री विषयको रुचि भिन्नभिन्न हुन्छ । यो पुस्तक राम्रो हो भनेर कसैले आफूलाई मनपर्नुको कारण देखाउन सक्छ तर अर्को पाठकलाई त्यति राम्रो नलाग्न सक्छ । साथै उमेर र पठनस्तर अनुसार पनि राम्रो नराम्रो वा सामान्य आफ्नै ढंगबाट छुटिन्छ । म आफूचाहिँ यो पुस्तक सर्वमान्य र सर्वश्रेष्ठ हो भनेर एउटा मात्र पुस्तक छुट्याउन सक्तिनँ ।
प्रतिक्रिया