सडक मिचेर हाउजिङ निर्माण

काठमाडौं ३० चैत । काठमाडौंको बौद्ध तीनचुली चोकदेखि फोहोरमैलासम्मको एक किलोमिटर दूरीमा रहेको सडक अतिक्रमण गरि पक्की घरहरु निर्माण हुँदा पनि सरकारले भने ध्यान नदिएको स्थानीयको गुनासो छ ।
काठमाडौ उपत्यकामा निर्देशित जग्गा विकास योजना ‘जिएलडी’ अन्तगर्त ६ मिटर फराकिलो यो बाटो विं सं २०४५ सालमा निर्माण गरिएको हो । जिएलडी मापदण्ड लागू भएका सडकहरुमा कुनै पनि संरचना बनाउन नपाइने स्थानीयले दावी गरे ।
काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न शहरहरुमा सडक फराकिलो बनाउने अभियान चलिरहे पनि काठमाडौंमै सडक मिचेर घरहरु निर्माण हुँदासमेत सरकारले ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । बौद्ध तीनचुली चोक पट्टीको खण्डमा हाउजिङ बनाइएको छ । पिकेफुलाकान्छीसम नामको यो हाउजिङको दुई वटा घरसहित स्थानीयले ५ वटा घर सडक अतिक्रमण गरेर निर्माण गरेका छन् । यस्तै सडक मिचेर प्लटिङ समेत गरिएको छ ।
सडक अतिक्रमण नरोकिएपछि स्थानीयहरुले काठमाडौ महानगरपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी हालेका छन् । महानगरपालिकाले सडक मिचेर बनाएको संरचना भत्काउन निर्देशन दिएपनि अहिलेसम्म पनि अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु भत्काइएको छैन ।
उपत्यका नगर विकास प्राधिकरणका आयुक्त केशव स्थापितले सरकारी बाटो मिच्नेलाई कडा कारवार्ही गरिने बताए । उनले नियम विपरीत घर निर्माण गरिए डोजर लगाएर भत्काउने दावी गरे ।
व्यापारीहरुको प्रलोभनमा परेर अतिक्रमित सडक सरकारले फिर्ता गराउन नसकेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया