नोटबुक र हमेसा भिड्दै

Notebookकाठमाडौ : अचेल शुक्रबार एक मात्र चलचित्र रिलिज हुनु भनेको कल्पनाभन्दा बाहिरको कुरा भइसकेको छ । सधैँजसो फ्राइडे रिलिजअन्तर्गत दुई वा सोभन्दा बढी संख्याका चलचित्र सार्वजनिक प्रदर्शनमा आउने गरेका छन् । त्यस्तैमा आज शुक्रबारबाट पनि दर्शकले दुई नयाँ चलचित्र हेर्न पाउने भएका छन् । ती हुन्, ‘नोटबुक’ र ‘हमेसा’ । अघिल्लो साता प्रर्दशनमा आएका दुई चलचित्र ‘भिजिलान्ते’ र ‘किसान’ ले सन्तोषजनक व्यवसाय गर्न नसकिरहेको समयमा यी दुई नयाँ चलचित्र व्यावसायिक प्रतिस्पर्धामा आउन लागेका हुन् । ‘नोटबुक’का निर्देशक योगेश घिमिरे हुन् भने ‘हमेसा’लाई सवीर श्रेष्ठले निर्देशन गरेका छन् । देशभर एकसाथ प्रर्दशनमा आउन लागेका यी दुई चलचित्रमध्ये नोटबुक चलचित्रक्षेत्रले आस गरेको चलचित्र हो ।
‘नोटबुक’ यस वर्षको सबैभन्दा बढी चर्चामा रहेको चलचित्र हो । गीत र निर्माणको पृथक्ताका कारण यसले चर्चा पाएको हो । गीतले सांगीतिक बजार तताउन सफल भएकाले यस चलचित्रले व्यावसायिक सफलता हात पार्नेमा आफूहरू विश्वस्त रहेको निर्देशक योगेश घिमिरेले बताए । उनले भने, ‘हिट भएको गीतले नै दर्शकलाई हलसम्म तान्नेछ’ । प्रज्ञा फिल्मस्कै ब्यानरमा लगातार चलचित्र बनाउँदै आएका निर्देशक योगेश नेपाली चलचित्र राम्रो बन्दैन भन्नेलाई नोटबुक गतिलो जवाफ भएको बताउँछन् ।
चलचित्रलाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । यसअगाडि तीन चलचित्रका निर्माणको अनुभव हासिल गरिसकेकी जोशीले एक उच्च महत्त्वाकांक्षा लिएर यस चलचित्रको निर्माण गरेकी छन् । चलचित्रका ‘गाला रातै’ र ‘भुल भुलैया’ बोलका गीतले प्रर्दशनपूर्व नै चौतर्फी तारिफ पाएकोले चलचित्र सफल हुनेमा उनी विश्वस्त छिन् । गीतले पनि दर्शक तान्ने उनको बुझाइ छ ।
‘नोटबुक’ प्रज्ञा फिल्मस्को ब्यानरमा निर्माण भएको चौथो चलचित्र हो । १९१८ तिरको यथार्थमा आधारित रहेर भविष्यमा हुने नेपालको कल्पनालाई यसमा कथा बनाइएको छ । जीवन लुइँटेल, नीत ढुंगाना, सेन सापकोटा, सुनील थापालगायत कलाकारको चलचित्रमा अभिनय छ । नेपालमा पछिल्लो समय भित्रिएको डिजिटल प्रविधिलाई शतप्रतिशत सदुपयोग गरिएको बताइएको यस चलचित्रको छायांकन सञ्जय लामाले गरेका हुन् । यसमा बनिस शाहको सम्पादन, वसन्त सापकोटाको संगीत र रोशन श्रेष्ठको द्वन्द्व छ ।
त्यस्तै ‘हमेसा’ छविराज ओझाको कार्यकारी निर्माणमा तयार भएको चलचित्र हो । चलचित्र सामान्य प्रेमकथामा सामान्य प्रस्तुतिका साथ निर्माण गरिएको निर्माणपक्षले जानकारी गराएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा सबिन श्रेष्ठ र नरेन खड्कालगायत कलाकारको मुख्य भूमिकामा अभिनय छ ।
चलचित्र सेन्सर बोर्डले वयस्कका लागि मात्र चलचित्र देखाउने अनुमति निर्माणपक्षलाई दिएको छ । सुवास सिंह बन्स्यातको लेखन र मदन घिमिरेको छायांकन रहेको चलचित्रमा रेखा पौडेलको संगीत रहेको छ । प्राय चलचित्र प्रर्दशनअगाडि नै गीत–संगीतले बजार तताउने निर्माता छविराज ओझाको यस चलचित्रको गीत–संगीतले भने बजार तताउन सकेको छैन । (सौस)

प्रतिक्रिया