विद्युत् प्राधिकरणमा चार सञ्चालक नियुक्त

काठमाडौं, ३० चैत्र । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा नयाँ चार सदस्य नियुक्त भएका छन् ।

ऊर्जा मन्त्रालयस्तरीय निर्णयले पुराना चार सदस्यलाई हटाएर नयाँ सञ्चालक सदस्य नियुक्त गरेको हो । मन्त्रालयका अनुसार, धनुषाका मनोजकुमार मिश्र, बुटवलका सन्तोषकुमार श्रेष्ठ, काठमाडौंमा लक्ष्मणप्रसाद अग्रवाल र राजविराजका विवेक तातेड प्राधिकरणको नयाँ सञ्चालक सदस्यको रूपमा नियुक्त भएका हुन् । मिश्र उपभोक्ता, श्रेष्ठ तथा अग्रवाल र तातेड जलविद्युत् क्षेत्रबाट सञ्चालक समितिमा नियुक्त गरिएका हुन् । अग्रवाल जलस्रोत मन्त्रालयका पूर्वसह–सचिव हुन् । उनले जलस्रोत मन्त्रालयमा मात्र ३० वर्ष काम गरेका थिए भने तातेड अरुण भ्याली जलविद्युत् आयोजनाका सेयर सदस्य हुन् । ऊर्जामन्त्रीको रूपमा उमाकान्त झा आएपछि उनीहरूलाई प्राधिकरण सञ्चालक सदस्यको रूपमा नियुक्त गरिएको हो । सञ्चालक सदस्य अग्रवालले सौर्यसँग कुरा गर्दै प्राधिकरणमा रहेर जलविद्युत् क्षेत्रको विकासका लागि अग्रसर हुने बताए ।
डा. बाबुराम भट्टराईको सरकारले अध्यक्षको रूपमा नियुक्त गरेका मुख्य सचिव लीलामणि पौडेलले राजीनामा दिएपछि अहिले ऊर्जामन्त्री झानै प्राधिकरण सञ्चालक समितिको अध्यक्ष छन् । प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा ऊर्जामन्त्री, ऊर्जाराज्यमन्त्री वा मन्त्रिपरिषद्ले तोकेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ । प्राधिकरण सञ्चालक समितिको सदस्यमा अर्थसचिव र ऊर्जासचिव सदस्य तथा प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव हुने व्यवस्था छ । पूर्वसचिव झा ऊर्जामन्त्री बनेपछि पौडेलले राजीनामा दिएका थिए । यही कारण ६ चैतपछि प्राधिकरण सञ्चालक समितिको बैठक बस्न सकेको छैन । प्राधिकरणका तत्कालीन सञ्चालकहरू विश्वप्रकाश गौतम, मोहनराज पन्त, डा. डम्बरबहादुर नेपाली र टेकनाथ आचार्यलाई बिहीबार नै अवकाश दिइएको छ । गौतम, पन्त र आचार्य तत्कालीन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीको पालामा प्राधिकरण सञ्चालक सदस्यमा नियुक्त भएका हुन् । गत मंसीरमा तत्कालीन सदस्य डा. केपी दुलाललाई हटाएर ऊर्जा मन्त्रालयले डा. नेपालीलाई सदस्यमा नियुक्त गरेको थियो ।
ऊर्जामन्त्री झाले गौतम र पन्तलाई राजीनामा दिन भने पनि उनीहरूले दिन नमानेपछि चारै जना परिवर्तन गरिएको ऊर्जा स्रोतले जानकारी दियो । सरकार परिवर्तन हुँदा विभिन्न सरकारी निकायमा नियुक्त भएका सदस्यहरूलाई अवकाश नदिने राजनीति दलहरूको भद्र सहमतिलाई ऊर्जामन्त्रीले तोडेको आरोप तत्कालीन सञ्चालक सदस्यले लगाएका छन् ।
ऊर्जासचिवसमेत फेर्ने तयारी
काठमाडौं : ऊर्जामन्त्री उमाकान्त झाले ऊर्जासचिव हरिराम कोइरालालाई समेत फेर्ने तयारी गरेका छन् । त्रिशुली–३ ए को क्षमता अभिवृद्धि, महँगोमा डिजेल प्लान्ट स्थापनामा सक्रिय, माथिल्लो तामाकोसी आयोजनाका प्रमुखसँग अधिकार क्षेत्र नाघेर स्पष्टीकरण लिएको लगायतका विषयमा विवादमा मुछिएका कोइरालालाई हटाउने तयारी मन्त्रीले गरेका हुन् । स्रोतका अनुसार, तत्कालीन डा. बाबुराम भट्टराईको पालमा ऊर्जामन्त्रालय ल्याइएका उनले मन्त्री झालाई पूर्ण सहयोग गर्ने अवस्था नरहेको विश्लेषणसहित सचिव फेर्न लागेको स्रोतले जनाएको छ । सचिवको लागि जल तथा ऊर्जा आयोगका सचिव विश्वप्रकाश पण्डितलगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया