बैंक सञ्चालकको सम्मेलन वैशाखमा

काठमाडौं : नेसनल बैंकिङ ट्रेनिङ इन्स्टिच्युट (एनबिटिआई) ले नेपालमा पहिलोपटक विभिन्न कम्पनीका सञ्चालकको सम्मेलन गर्ने भएको छ । एनबिटिआईले ५ वैशाखमा सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा नेपालमा कारोबार गर्ने विभिन्न सूचीकृत कम्पनीका एक सय जना सञ्चालक सहभागी हुने बताइएको छ ।

सूचीकृत कम्पनीका सञ्चालकबीच आफूमा भएको ज्ञान र अनुभव आदान–प्रदान गर्ने माध्यम बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । अहिले नेपाल स्टक एक्सचेन्जमा दुई सय २६ वटा कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीको चुक्ता पुँजी १२ खर्ब १० अर्ब रुपियाँ छ । एनबिटिआईले निजी कम्पनीको तुलनामा सूचीकृत कम्पनीको बेग्लै गती विज्ञान हुने बताउँदै यी कम्पनीको कार्य सञ्चालनका लागि विशिष्ठ ज्ञान, सीप र अनुभव आवश्यक हुने सञ्चालकको सुशासनको विषय संसारभर नै चुनौतीपूर्ण रहेको बताएको छ । नेपाल पनि यसबाट अछुतो रहन नसक्ने एनबिटिआईले दाबी गरेको छ ।
चुनौतीको खाडलमा पुलको काम गर्न सञ्चालक समितिबीच अन्तक्र्रिया कार्यक्रम आयोजना गर्न लागिएको एनबिटिआईले जनाएको छ । सम्मेलनको उद्देश्य सञ्चालकको तहमा अत्यावश्यक ज्ञान र सीपहरूको प्रसार गर्नु हो । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा, डेपुुटी गभर्नर महाप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का संस्थागत सुशासन विज्ञ जुवान कार्लोस फर्नान्डिज जाराले संवोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया