चुनावलाई भयरहित बनाउन सबैको सहयोग चाहियो : रेग्मी

चितवन, ३० चैत । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको चुनाव सफल बनाउन सबैको सहयोग आवश्यक परेको बताएका छन् ।

चितवनको टिकौलीमा नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरीको उद्घाटनपछि बिहीबार मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् । चुनाव गराउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै अध्यक्ष रेग्मीले सबैले सहयोग गरेमा मात्र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने बताए । उनले विचार, आस्था र लगाव जेसुकै भए पनि चुनावमा निष्पक्षतापूर्वक सबैले सक्रिय सहभागिता जनाउनुपर्ने धारणा व्यक्त गरे ।
उनले संविधानसभा चुनाव सफल बनाउन युवाशक्तिलाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रहसमेत गरे । उनले युवापलायनलाई मध्यनजर गरी युवासम्बन्धी कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइने जानकारी दिए । ‘युवाहरूलाई प्रोत्साहित नगरेकै कारण देशबाट उनीहरू पलायन भएका हुन्, यसकारण युवा शक्तिलाई रोकिराख्न स्वदेशमै क्रियाशील गराउने नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ,’ उनले भने । स्थिरता कायम नभएसम्म देश अगाडि बढ्न नसक्ने भएकाले सामाजिक रूपान्तरणका लागि राजनीतिक, आर्थिक, सामाजिकलगायत मनोवैज्ञानिक र सांस्कृतिक पक्षमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
स्काउट नेपाल प्रमुखसमेत रहेका युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले युवाविद्यार्थीमाझ नेतृत्वविकासमा स्काउटको यो अभियानले सकारात्मक भावना विकास गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।
बुधबार सुरु स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरी दुई वैशाखसम्म सञ्चालन हुनेछ । आठ विदेशी समूह र नेपालका ५९ जिल्लाका ६ हजार स्काउट–विद्यार्थीको सहभागिता रहेको यो दोस्रो ज्याम्बोरीको आयोजना नेपालमा २६ वर्षपछि गरिएको हो ।

प्रतिक्रिया