मञ्चको नयाँ कार्यसमितिलाई परिषद्को स्वागत

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्ले बुधबार एक कार्यक्रमको आयोजना गरी स्वागत तथा शुभकामना प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले कार्यक्रममा सभापतिको आसनबाट बोल्दै खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् र नेपाल खेलकुद पत्रकार मञ्च खेलकुदक्षेत्रको एक सिक्काका दुई पाटा भएको बताउँदै खेल, खेलाडी र खेलको विकासमा लागेका अन्य क्षेत्रलाई समेत जनसमक्ष पुर्‍याई कार्यको मूल्यांकन गर्ने काम पत्रकारले गर्ने उल्लेख गरे ।
त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै पत्रकारिता खेलकुदको एक अंग भएको बताए । उनले परिषद् र पत्रकार मञ्च एक–अर्काका पूरक भएको भन्दै खेलकुदको विकासका लागि भएका कार्यको निष्पक्ष र अनुसन्धानात्मक सूचना जनमानसमा सम्पेषण गर्न सुझाव दिए । केही साप्ताहिक पत्रिकाले राम्रा कार्यको पनि तोड–मतोड गरी समाचार सम्प्रेषण गरेकोप्रति टिप्पणी गर्दै लामाले खेलकुदको विकासमा परिषद्, पत्रकार मञ्च र अन्य खेलसम्बन्धी निकायको सामूहिक धारणा बनाउनुपर्नेमा जोड दिए ।
लामाले ओलम्पिकको विवाद खेलकुदको विकासका लागि नभई व्यक्तिगत स्वार्थ र ठाउँ कब्जा गर्ने नीतिको उपज भएको बताए । नेपालले अहिलेसम्म तेक्वान्दोका दुई सहभागिताको मात्र छनोटचरण पार गरेर सहभागी भएको र बाँकी सबै सहभागिता वाइल्ड कार्डमा प्राप्त गरेकोले नेपाली खेलक्षेत्रको अवस्था दयनीय रहेको प्रष्ट भएको टिप्पणी गरे । आºनो कार्यकालमा नेपालमा खेलकुदको विकासका लागि १ अर्ब ५६ करोडमा आगामी वर्ष सबै निर्वाचनक्षेत्रमा सेमी कभर्ड हल र साधारण खेल मैदानको निर्माण गर्न जुटेको बताए ।
स्वागत कार्यक्रममा बोल्दै नयाँ कार्यसमितिका अध्यक्ष अजय फुयाँलले खेलकुदको विकासमा पत्रकार मञ्च पनि एक खम्बा भएको भन्दै खेलकुदमा भएको कमी कमजोरी र राम्रा कार्यको सम्प्रेषण गरी सदा सर्वसाधारणलाई सजग पारिरहने कार्यमा मञ्च लागिपर्ने बताए । (सौस)

प्रतिक्रिया