वित्तीय विवरण नबुझाउने सहकारी कारबाहीमा

sahakari-bibhagकाठमाडौं, २९ चैत । वार्षिक एक करोडभन्दा बढी कारोबार गर्ने सहकारीले मासिक रूपमा बुझाउनु पर्ने वित्तीय विवरण नबुझाउँदा सहकारी कारबाहीमा पर्ने गरेका छन् ।

काठमाडौंमा मात्रै एक करोडभन्दा बढी कारोबार गर्ने एक हजारको हाराहारीमा भए पनि करिब सात सयले मात्र नियमित विवरण बुझाउने गरेको डिभिजन सहकारी कार्यालय काठमाडौंले जनाएको छ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रायलको निर्देशनमा माघ ०६७ देखि सहकारी विभागले प्रत्येक महिनाको सात गतेभित्र अनिवार्य रूपमा डिभिजन कार्यालयमा विवरण बुझाउनु पर्ने व्यवस्था गरेको थियो ।
विवरण नबुझाउने सहकारीबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा डिभिजन सहकारी कार्यालय काठमाडौंले करिब सात लाख रुपियाँ जरीवाना संकलन भएको कार्यालयका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । गत वर्ष कार्यालयले विवरण नबुझाएको र असोज मसान्तसम्ममा लेखापरीक्षण नबुझाए वापत १० लाख रुपियाँ संकलन गरेको पनि जानकारी दिए ।
‘सात गतेपछि विवरण बुझाउन आएमा तीन सय जरीवाना तिराउँछौँ ।’ सहकारी अधिकृत शर्माले भने– ‘महिना कटेपछि १५ सय प्रति महिना जरिवाना लाग्छ ।’ यसो गर्दा पनि ३०/३५ प्रतिशत सहकारीले वित्तीय विवरण नबुझाएको उनको भनाइ छ । विवरण नबुझाउने सहकारी खारेजीमा समेत पर्ने उनले बताए । केही सहकारी विवरण नबुझाएकै कारण खारेजीमा समेत परेको उनले बताए ।
सहकारी संघ/संस्था दर्ता, सञ्चालन, लेखा परीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, २०६८ मा पनि अनिवार्य रूपमा वित्तीय विवरण बुझाउनु पर्ने प्रावधान रहेको छ । विवरण नबुझाउने सहकारीले लेखा परीक्षकको स्वीकृति, ऋण उठाउने प्रक्रियाका लागिसमेत जरिवाना तिर्नुपर्ने हुन्छ । मापदण्डमा कम्प्युटरमा अभिलेख राख्ने गरेका संस्थाले आर्थिक तथा प्रशासनिक अभिलेख मासिक रूपमा मुद्रण गरी प्रमाणित गरी राख्नुपर्ने, मासिक कारोबारको विवरण सदस्यहरूको जानकारीका लागि संघसंस्था बैंकको कार्यालयमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, वार्षिक एक करोड रुपियाँभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले अनुसूची–६ बमोजिमको ढाँचामा प्रत्येक महिना भुक्तान भएको मितिले सात दिनभित्र सम्बन्धित कार्यालयमा विवरण पेस गर्नुपर्ने, समयमै विवरण दाखिला नगर्ने संस्थालाई प्रचलित कानुनबमोजिम पटकैपिच्छे एक हजार पाँच सय रुपियाँसम्म जरिवाना गरी सोको अभिलेख राख्ने र सोको सूचना सार्वजनिक गर्ने कार्य सम्बन्धित कार्यालयले गर्ने मापदण्डमा उल्लेख गरिएको छ । काठमाडौंमा मात्रै ३७ सय सहकारी सञ्चालनमा रहेका छन् । जसमध्ये पाँच करोडभन्दा बढी कारोबार गर्ने दुई सय पाँच रहेको छ ।
कृषि सहकारी बढे
भक्तपुर : युवापुस्ताले कृषि पेसालाई निरन्तरता दिएपछि पछिल्लो समयमा भक्तपुरमा कृषि सहकारी संस्था पनि बढेका छन् ।
जिल्ला सहकारी डिभिजन कार्यालयका अनुसार आथिर्क वर्ष ०६९/७० को आठ महिनामा २६ वटा सहकारी संस्था दर्ता भएकामा १७ वटा कृषि सहकारी दर्ता भएको छ । गएको आवसम्म जिल्लामा चार सय ३९ बचत तथा ऋण सहकारी संस्था रहेकामा यो आठ महिनामा बचत तथा ऋण सहकारी नौ वटा बढेर चार सय ४८ पुगेका छन् भने कृषि सहकारी १९ बाट बढेर ३६ पुगेका छन् । त्यसैगरी बहुउद्देश्यीय सहकारी संस्था ३२ वटा, दुग्ध सहकारी संस्था २२ वटा, उपभोक्ता सहकारी संस्था आठ वटा, मौरीपालन, स्वास्थ्य र सञ्चार एक/एक वटा र दुईवटा सेवामूलक संस्था रहेको सो कार्यालयले जनाएको छ ।
जिल्लामा यो आवमा सुडालमा तीन, कटुञ्जेमा दुई, छालिङ, सिपाडोल, ताथली, बागेश्वरी, गुण्डुमा एक/एक वटा र भक्तपुर नगरपालिकामा पाँच वटा कृषि सहकारी संस्था दर्ता भएका छन् । अहिलेसम्म जिल्ला डिभिजन सहकारी कार्यालयमा कृषि सहकारीको संख्या पाँच सय ५० पुगेको कार्यालय प्रमुख हरि वशिष्टले जानकारी दिए । उनले भने, ‘हरेक महिना करिब चार/पाँच वटा सहकारी दर्ता हुने गरेका छन् ।’ यस आवको मंसिर, पुस र माघमा सबभन्दा बढी कृषि सहकारी दर्ता भएका छन् । किसानहरूमा आएको जनचेतना कै कारण पछिल्लो समय जिल्लामा कृषि सहकारी बढेको हो ।
सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न किसिमको अनुदानको व्यवस्था गरेकाले पनि कृषि सहकारी खोल्नेको क्रम बढ्दै गएको हो । सहकारीविद् कैलाशभक्त प्रधानांग पनि समुदायमा आधारित कृषि सहकारी बढ्नु किसानमा आएको जनचेतना कै कारण भएको बताउँछन् ।

प्रतिक्रिया