बजेटमा जनताका अपेक्षा समेट्न सकिएन

khilrajकाठमाडौं, २८ चैत । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आम मनोविज्ञानले सरकारप्रति गरेको अपेक्षालाई पर्याप्त रुपमा बजेटले सम्बोधन गर्न नसकेको बताएका छन् ।
काठमाडौंमा आज नेपाल उद्योग वाणिज्य महासंघको ४७ औँ वार्षिक साधारण सभा रेग्मीले भने, ‘आम मनोविज्ञानले सरकारप्रति गरेको अपेक्षालाई पर्याप्त रुपमा बजेटले सम्बोधन गर्न नसकेको पनि हुनसक्दछ ।’ देशको अवस्था अनुरुप वर्तमान आवश्यकता सुहाउँदो प्रकृतिको बजेट सरकारले आमजनताका सामु प्रस्तुत गरेको उनले बताए । ‘बजेट समयसापेक्ष प्रकृतिको पनि छ भन्ने मलाई लाग्दछ,’ उनले भनेका छन् ।
उनले नेपालमा थुप्रै राजनीतिक परिवर्तन हासिल गरे पनि त्यसले स्थायित्व पाउन नसकेको बताए । रेग्मीले राजनीतिक स्थायित्व दिन नसकेकै कारण समस्या उब्जिएको बताए ।
उनले भने, ‘अस्थिरताका कारण सामाजिक परिवर्तन र आर्थिक विकासमा सन्तोषको आभाष गर्न पाएका छैनौँ ।’
नेपालीहरुले गर्ने परिश्रम विश्वका अन्य समृद्ध राष्ट्रहरुका नागरिकहरुले गर्ने परिश्रम सरह नै रहेको बताउँदै उनले भनेर, ‘तर यहाँको आर्थिक हैसियत, जीवनस्तर र मानिसको जीवनशैलीको गुणस्तरको अवस्थालाई हेर्ने हो भने त्यो सन्तोषप्रद मान्न सकिँदैन ।’
उनले सोही वास्तविकताहरुलाई ध्यानमा राखेर सबै उद्योगी, व्यवसायी र अन्य क्षेत्रका व्यक्तित्वहरुले आर्थिक विकासमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया