‘निजामती कर्मचारीको एउटै संगठन हुँदा राम्रो’

karmachariकाठमाडौं : एमाले अध्यक्ष झलनाथ खनालले निजामती कर्मचारीलाई तत्काल एउटै संगठनमा गोलबद्ध गराउनुपर्ने बताएका छन् । राजधानीमा मंगलबार एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको नवौँ अधिवेशन उद्घाटनपछि अध्यक्ष खनालले भने, ‘त्यसका लागि तत्कालै चुनाव गरी आधिकारिक युनियन बनाउनुपर्छ ।’ एउटै संगठन हुँदा कर्मचारीले उठाएका माग सम्बोधन गर्न सजिलो हुनुका साथै कर्मचारीका हितमा बृहत् काम गर्न सकिने खनालको भनाइ थियो ।
निजामती कर्मचारी स्थायी सरकार भए पनि यसलाई विभिन्न कोणबाट अस्थायी बनाउने प्रयत्न भएको उनले बताए । उनले भने, ‘कर्मचारी संगठनलाई स्थायी सरकारका रूपमा विकास गरेर लैजान यसभित्र हुने राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्छ ।’ कर्मचारीमाथि हुने राजनीति हस्तक्षेप बन्द नभएसम्म कर्मचारीका समस्या पनि सम्बोधन नहुने उनको भनाइ थियो ।
निजामती ऐनको २४ (घ) १ लाई संशोधन गरी कर्मचारीले उठाएका माग तत्काल पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘ऐनको २४ घ १ ले आमनिजामती कर्मचारीलाई बिचल्ली बनाएको छ, त्यसैले तत्काल संशोधन गर्न सरकारसमक्ष आग्रह गर्छु ।’
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले निजामती कर्मचारी संगठनहरू विभिन्न दलका भ्रातृसंगठनका रूपमा विकास भएको उल्लेख गर्दै यसले कर्मचारीतन्त्र तहसनहस पारिरहेको बताए । ‘कर्मचारीले राजनीति गर्ने होइन,’ कार्कीले भने, ‘तर, अहिले कर्मचारीको हकहितका नाममा दलीय राजनीति गर्ने थलो बनेको छ ।’
विभिन्न कर्मचारी संगठनका नेताहरूले कर्मचारीतन्त्रमाथि हुने राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने तथा कर्मचारी ऐन संशोधनका लागि बनेको अध्यादेश स्वीकृत गरी तत्काल लागू गर्नुपर्ने बताएका थिए । २९ गतेसम्म चल्ने अधिवेशनमा सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने संगठनले जनाएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली सहरका विभिन्न भागको परिक्रमा गरी अधिवेशन उद्घाटनस्थल राष्ट्रिय सभागृह पुगेको थियो । (सौस)

प्रतिक्रिया