एमाले बैठक स्थगित

काठमाडौं, २८ चैत । चुनावी रणनीति तय गर्न वैशाख पहिलो साताका लागि बोलाइएको एमालेको केन्द्रीय समिति बैठक स्थगन भएको छ । वैशाख ३ देखि ५ गतेसम्म बस्ने गरी केन्द्रीय बैठक बोलाइएको थियो ।

पार्टी मुख्यालय बल्खुमा मंगलबार बसेको पोलिटब्युरो बैठकले चुनावी रणनीति बनाउन बोलाइएको केन्द्रीय बैठक स्थगन गर्ने निर्णय गरेको हो । केन्द्रीय बैठक ३ वैशाखमा बस्ने पोलिटब्युरो बैठकले तय गर्ने भएको छ ।
बैठकले प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठनप्रति असन्तुष्ट नेकपा–माओवादीसहितका ३३ दललाई वार्तामा आउन आह्वानसमेत गरेको छ । देशलाई अग्रगतिमा लैजान ३३ दललाई वार्तामा आउन आह्वान गर्दै एमालेले वार्ताको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । एमालेले ३३ दलसँग एक पक्षीय, दुई पक्षीय र बहुपक्षीय वार्ता गर्न सरकार र चार दलीय संयन्त्रलाई आग्रह गरेको पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले जानकारी दिए । उनले भने ‘सबैको अधिकार संविधानसभा चुनावबाट सुनिश्चित हुने भएपछि आन्दोलनरत दलहरूलाई वार्तामा आउन हामीले आग्रह गरेका हौँ ।’
बैठकले पार्टी प्रवेश तथा एकीकरण, संविधानसभाको तयारी, केन्द्रीय सदस्यको मनोनयन र कार्यविभाजन गर्ने कार्य अर्काे बैठकमा गर्ने भएको छ । ३ वैशाखमा बस्ने पोलिटब्युरो बैठकबाट यी विषयमा छलफल गर्ने गरी स्थगन गरिएको एमालेले जनाएको छ ।
अनेरास्ववियुको आयोजक समिति भंग

एमाले विद्यार्थी संगठन अनेरास्ववियुमा लामो समयदेखि चल्दै आएको विवाद अन्त्य भएको छ । पोलिटब्युरो बैठकले मंगलबार ३ सय ५३ जनाको महाधिवेशन आयोजक समिति भंग गरी नयाँ समिति गठन गर्ने निर्णय गरेको पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकले यसअघि स्थायी कमिटीले निर्णय गरेबमोजिम ५ वटा मापदण्डभित्र पर्नेलाई मात्र आयोजक समितिमा राख्ने निर्णय गरेको छ । आयोजक समितिमा रहेका ३ सय ५३ मध्ये कारबाहीमा नपरेका, विदेशमा रहेका, कार्यक्षेत्रमा नजाने, पेसा वा अन्य व्यवसायमा नलागेका र हाल विद्यार्थी रहेकालाई मात्र आयोजक समितिमा चयन गर्ने निर्णय भएको ज्वालाले बताए । नयाँ आयोजक समिति गठनको जिम्मा सचिव युवराज ज्ञवालीलाई दिइएको छ ।
त्यसैगरी वर्तमान आयोजक समितिबाट असन्तुष्ट पक्षको भेला स्थगित गर्ने निर्णयसमेत बैठकले गरेको छ । वर्तमान आयोजक समितिबाट असन्तुष्ट भई नवीना लामा, नवराज पौडेललगायतले राष्ट्रिय भेलाको तयारी गरेका थिए । मंगलबार मात्र असन्तुष्ट पक्षको राष्ट्रिय कार्यकर्ता भेला ८ वैशाखदेखि दुई दिन काठमाडौंमा हुने जनाइएको थियो । २९ चैतका लागि तय गरिएको भेलाको तयारी अपूर्ण भएको भन्दै युनियनले मंगलबार पत्रकार सम्मेलन गरी नयाँ मिति घोषणा गरेको थियो । भेलाबाट स्ववियु चुनावका लागि उम्मेदवार तय गरिने युनियनको प्रचार उपसमितिकी सचिव राधिका खतिवडाले जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया