राता गालाले लोभ्याउँदै छ दर्शक

Notebookकाठमाडौं : ‘गाला रातै गाला रातै…’ पछिल्लो समय बजारमा आएको यस गीतले यतिबेला सांगीतिक बजार तताउन सफल भएको छ । वसन्त सापकोटाको संगीत र प्रह्लाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको यस गीतलाई चलचित्र ‘नोटबुक’ मा समेटिएको छ । गीतको सफलता सँगसँगै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नोटबुक’ को पनि चर्चा चुलिएको छ । चलचित्र प्रदर्शनमा आउनुपूर्व प्रमोसनका लागि छोडिएको गीतको सफलताजस्तै चलचित्रले पनि व्यावसायिक सफलता हात पार्न सफल हुने निर्माण पक्ष बताउँछन्
‘अहिले गीतले सांगीतिक बजार ‘तताउन सफल भएकाले चलचित्रले पनि व्यावसायिक सफलता हात पर्छ,’ निर्देशक योगेश घिमिरेले भने, ‘हाम्रो इतिहास हेर्ने हो भने कुसुमे रुमालदेखि लाहुरे हुँदै अहिलेसम्म आउँदा गीत चलेका चलचित्रले राम्रो व्यवसाय गरेका छन् ।’ यहिले दर्शकका ध्यान चलचित्रतिर खिचिरहेकाले यसै गीतले उनीहरूलाई हलसम्म पनि तानेर ल्याउन सफल हुने उनले बताए ।
प्रज्ञा फिल्मस्कै ब्यानरका चलचित्र लगातार बनाउँदै आएका निर्देशक योगेशका यस ब्यानरको यो चौथो चलचित्र हो । नेपाली चलचित्र दर्शकका चाहानाअनुरूप बन्दैनन्, राम्रा बन्दैनन् भन्ने गुनासा आइरहेको समयमा ‘नोटबुक’को प्रदर्शनपछि त्यस्ता गुनासा सुन्न नपाइने निर्देशक घिमिरेले दाबी गरे ।
गीतले गतिलै चर्चा पाइरहेकाले चलचित्रले पनि व्यावसायिक सफलता हात पार्नेमा निर्माता प्रज्ञा जोसी पनि विश्वस्त रहेकी छन् । ‘गाला रातै बोलको मात्र होइन, चलचित्रको ‘भुल भुल…’ भन्ने गीतले पनि अहिले चर्चा पाएको छ,’ उनले भनिन्, ‘दुई गीत सफल भएको चलचित्र कसो सफल नहोला । प्राय: मानिस संगीतविमुख नहुने भएकाले गीतले पनि दर्शक तान्ने उनको ठम्याइ छ । यसअगाडिका तीन चलचित्रबाट खासै व्यावसायिक सफलता चाख्न नपाएकी प्रज्ञा यस चलचित्रले व्यावसायिक सफलता पाउनेमा निकै आशावादी पनि छिन् ।
गीतले दर्शक तान्ने आशमा निर्माता निर्देशक रहे पनि यस गीतले संगीतकार तथा गीतकारलाई भने चलचित्र चल्नुपूर्व नै फाईदा पुगकेको छ । ‘राता गालैको चर्चाले मलाई अन्य केही चलचित्र संगीतको अफर आएको छ,’ संगीतकार वसन्त सापकोटाले भने, ‘जतिले अफर गरेका छन्, तिनले पनि मेरो गीत राता गालाजस्तै बनाइदिनुपर्‍यो भन्छन् ।’ एग्रिमेन्ट नभएसम्म यसक्षेत्रमा कुनै पनि काम पक्का भन्न नमिल्ने बताउँदै सापकोटाले ती चलचित्रका नाम भने खुलाउन चाहेनन् ।
राता गाला .. गीतका शब्द राजेन्द्र रानाले कोरेका हुन् । शब्द लेख्दाका समय गीत सफल हुन्छ भन्ने आफूलाई लागेको तर यति धेरै सफल हुन्छ भन्ने कहिल्यै नसोचेको रानाले बताए । उनले भने, ‘मलाई अहिले राता गालाजस्तै गीत लेखिदिन थुप्रै अफर आएका छन् ।’
नोटबुक प्रज्ञा फिल्मस्को ब्यानरमा निर्माण भएको चौथो चलचित्र हो । चलचित्र १९१८ तिरको यथार्थमा आधारित रहेर भविष्यमा हुने नेपालको कल्पना गरिएको विषयलाई चलचित्रको कथा बनाइएको छ ।
जीवन लुइँटेल, नीत ढुङ्गाना, शेन सापकोटा, सुनील थापालगायत कलाकारको अभिनय यसमा छ । नेपालमा पछिल्लो समय भित्रिएको डिजिटल प्रविधिलाई शतप्रतिशत सदुपयोग गरिएको बताइएको यस चलचित्रलाई छायांकन सञ्जय लामाले गरेका हुन् । बनिस शाहको सम्पादन, वसन्त सापकोटाको संगीत, रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्र आगामी ३० गते देशभरका स्टेसनबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । (सौस)

प्रतिक्रिया